रिसाहा, घमण्डी र स्वार्थी खेलाडी हुन् रोनाल्डो !
बोस्निया : रुस विश्वकपमा क्रोएसियालाई फाइनलमा पु¥याएका क्रोएसियाका प्रशिक्षक ज्लाट्को डालिचले पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई संसारकै रिसाहा र स्वार्थी खेलाडी भएको आरोप लगाएका छन् । डालिचले क्रोएसियाको स्थानीय सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिने क्रममा रोनाल्डोप्रति आक्रोश पोखेका हुन् ।
‘रोनाल्डो अहंकारी खेलाडी हुन् । उनी कहिल्यै पनि मेरो टोलीमा रहन्नन्’, डालिचले भने । पाँचपटकका ब्यालोन डिओरको उपाधि विजेता रोनाल्डो बिहीबार सम्पन्न यूएईएफए उत्कृष्ट खेलाडी पुरस्कार समारोहमा उपस्थित भएनन् । रोनाल्डोलाई पछि पार्दै लुका मोड्रिचले उत्कृष्ट खेलाडीको उपाधि जितेका थिए ।
गत सिजन रियल म्याड्रिडलाई च्याम्पियन्स लिगको उपाधि दिलाउन रोनाल्डोसँगै मोड्रिचको पनि ठूलो योगदान थियो । मोड्रिचकै उत्कृष्ट प्रदर्शनमा क्रोएसिया विश्वकप फुटबलको फाइनल पुगेर फ्रान्ससँग पराजित भएको थियो । डालिचले रोनाल्डो आफ्नो लागि मात्र सोच्ने धूर्त खेलाडी भएको आरोपसमेत लगाए ।
‘रोनाल्डो सधैं आफ्नो लागि सोच्छन् । क्लबले हारे पनि मैले मात्र गोल गर्नुपर्छ भन्ने घमण्ड उनमा छ’, डालिचले भपे । क्रोएसियाले अर्को साता पोर्चुगलविरुद्ध मैत्रीपूर्ण खेल खेल्दैछ । विश्वकपको फाइनलमा पराजित भएको क्रोएसियाको योजना आगामी युरोकप जित्नु रहेको डालिचले बताए ।