मन्त्रिमण्डल हेरफेर गर्ने प्रचण्डको संकेत - Himal Post Himal Post
  • ९ आश्विन २०८१, बुधबार
  •      Wed Sep 25 2024
Logo

मन्त्रिमण्डल हेरफेर गर्ने प्रचण्डको संकेत



नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठन हुन सक्ने बताएका छन् । खुमलटारस्थित निवासमा पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले मन्त्रीहरू हेरफेर हुन सक्ने बताएका हुन् । उनले आफ्नो–अर्को नभनी केही मन्त्रीको कामका आधारमा जिम्मेवारी हेरफेर हुन सक्ने बताए ।

‘मन्त्रीहरूको विषयमा केही न केही कदम चाल्नुपर्छ भन्ने नै छ । एउटा पक्षको छुँदा अर्को पक्षलाई नछुने भन्ने हुँदैन । जोसुकै पक्षको भए पनि कदम चाल्नुपर्छ भन्ने छ,’ प्रचण्डले भने, ‘सरकार र पार्टीलाई असफल बनाउने तथा जनतालाई निराश बनाउने अवस्था आएकाले केही न केही कदम चाल्छौँ ।’

कदम चाल्दा कसैले कसैलाई सिध्याउने नभई पार्टी, आन्दोलन र जनतालाई ध्यान दिएर निर्णय लिइने उनको भनाइ छ । आम जनतामा देखिएको निराशा मिडियामार्फत् पनि आएको बताउँदै प्रचण्डले सकारात्मक ढंगले समीक्षा गरिने बताए ।

‘सरकार र मन्त्रीहरूको विषयमा दुई अध्यक्षबीच गम्भीर छलफलसँगै समीक्षा गर्ने प्रक्रिया सुरु भएको छ,’ प्रचण्डले भने, ‘दुई अध्यक्षबीच एक–आपसमा शंकाका रूपमा हेरिन्छ भन्ने होला, तर पार्टी र सरकारका विषयमा एक–आपसमा गम्भीर छलफल भइरहेको छ ।’ सरकार र पार्टी एकताको विषयमा ठोस प्रस्ताव तयार गरी सचिवालयबाट अन्तिम रूप दिएर स्थायी कमिटीमा छलफलपछि निर्णय गराउने तयारी भएको पनि जानकारी दिए । नयाँ पत्रिकाबाट ।