सन्दीपको शानदार प्रदर्शनले पनि बचाउन सकेन नेपाललाई - Himal Post Himal Post
  • ३ माघ २०८१, बिहीबार
  •      Thu Jan 16 2025
Logo

सन्दीपको शानदार प्रदर्शनले पनि बचाउन सकेन नेपाललाई



काठमाडौं – नेपाल एसिया कप क्रिकेट प्रतियोगितामा छनोट हुन असफल भएको छ । मलेसियामा भएको छनोट प्रतियोगितामा खेलेका ५ मध्ये ३ खेल हारेपछि नेपालको एसिया कप खेल्ने सम्भावना टरेको हो ।

यससँगै भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानजस्ता टेस्ट राष्ट्रसँग खेल्ने मौका गुमेको छ ।

छनोटको अन्तिम खेलमा मंगलवार नेपाल हङकङसँग ३ विकेटले पराजित भयो । ९६ रनको झिनो विजयी लक्ष्य हङकङले ३२ ओभर ३ बलमा ७ विकेट गुमाएर पूरा गर्‍यो ।

हङकङको जीतमा अंशुमन रथले सर्वाधिक ५२ रनको योगदान गरे ।

नेपालका लागि सन्दीप लामिछानेले ५ विकेट लिए पनि त्यो जीतका लागि पर्याप्त भएन । आफ्नो १० ओभरको स्पेल पूरा गर्ने क्रममा उनले २ मेडन राख्दै २७ रन खर्चिए ।

सन्दीपका अलावा सागर पुन र वसन्त रेग्मीले थप १/१ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ९५ रन जोड्दा अलआउट भएको थियो ।

नेपालका लागि आरिफ शेखले सर्वाधिक १८, अनिल साह र वसन्त रेग्मीले समान १५, पारस खड्काले १४ तथा ज्ञानेन्द्र मल्लले १२ रनको योगदान गरे ।

हङकङका इसान खानले सर्वाधिक ४ विकेट लिए ।

नेपाल यसअघि युएई र ओमानसँग पनि पराजित भएको थियो । सिंगापुर र मलेसियाविरुद्ध भने नेपालले जीत दर्ता गरेको थियो ।