सुखडमा पनि मनाइयो गौरा पर्व (फोटो फिचर) - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

सुखडमा पनि मनाइयो गौरा पर्व (फोटो फिचर)



बिशाल पाण्डेय / सुखड,कैलाली ।

प्रदेश ७ का विभिन्न जिल्लाहरुमा गौरा पर्व हर्षोल्लासका साथ मनाइएको छ । आज अठ्यावली अर्थात अष्टमी हो । आजको दिनलाई गौरा पर्वको मुख्य दिन मानिन्छ । यस दिन गौराको विषेश पूजाआजा गरी मनाउने चलन रहेको छ । गौरामा विशेष गरी शिव पार्वतीको पूजा गर्ने चलन छ।

प्रदेश ७ को मौलिक संस्कृति झल्किने गरी मनाइने गौरा पर्व कैलालीको घोडाघोडी नगरपालिका -१ सुखडमा पनि मनाइएको छ । सप्तमिका दिन शुद्ध कासले वनाएर घरमा भित्र्याइएको गौरा देविको मुर्ति र काठको महेश्वरको मुर्ति लाई घरवाहिर निकालेर ब्रतालु महिलाहरुले पालैपालो गरि ति गौरा देवी र महेश्वर लाई टाउको मा राखी आज सुखड बजार परिक्रमा गरेका थिए ।

गौरा पर्वमा देउडामा पौराणिक कथा, देवी देवताका गाथा गाउने, चैतली, धुमरी, ढुस्को लगायतका भाकामा देउडा खेलेर रमाईलो गर्ने चलन भएको हुनाले सुखड बजार परिक्रमा गरिसकेपछी विभिन्न समुहमा देउडा खेलेर रमाइलो समेत गरेका थिए ।

देउडाका माध्यमबाट समाजमा भएको विकृति, देशको राजनीतिक अवस्था लगायतका बारेमा तिखो व्यङ्ग्य गरेर खेल खेलिन्छ । त्यस्तै देउडा गीतका माध्यमबाट सुख दुःख बाँड्नुका साथै सामाजिक सदभाव कायम पनि गरिन्छ ।