काठमाडौंका दलित भन्दा कर्णालीका बाहुन गरिब :सांसद शाही - Himal Post Himal Post
  • ५ माघ २०८१, शनिबार
  •      Sat Jan 18 2025
Logo

काठमाडौंका दलित भन्दा कर्णालीका बाहुन गरिब :सांसद शाही



काठमाडौं – प्रतिनिधिसभा सदस्य रंगमती शाहीले कर्णालीमा व्यापक गरिबी रहेकाले बालबालिकालाई विद्यालय जान गाह्रो भएको बताएकी छन् । प्रतिनिधिसभामा अनिवार्य तथा निःशुल्क शिक्षा विधेयकमाथिको छलफलमा सहभागी हुँदै सांसद शाहीले कर्णालीका बालबालिकाका लागि निःशुल्क र अनिवार्य शिक्षा लिन गाह्रो भएको बताइन् ।

उनले अभिभावकलाई बिहान खाएर साँझको खाना जोड्न गाह्रो भएकाले बालबालिका विद्यालय शिक्षाबाट वञ्चित हुनुपरेकाले सरकार गम्भीर बन्नुपर्ने धारणा राखेकी थिइन् । उनले अभिभावकलाई जबर्जस्ती बालबालिकालाई स्कुल भर्ना गर भनेर शिक्षा दिन नसकिने बताइन् । त्यसका लागि सरकारले लगानी वृद्धि गर्नुपर्ने उनको धारणा थियो । देशमा जातीयताको कुरा हुने गरेको तर गरिबीका अगाडि जातीयता केही नभएको उनको भनाइको आशय थियो ।

उनले भनिन्, ‘काठमाडौंका दलित भन्दा कर्णालीका बाहुन गरिब छन् ।’

सरकारले कर्णालीका बालबालिकालाई खाजा खर्च भनेर दिँदै आएको १५ रुपैयाँले नपुग्ने उनको धारणा थियो । उनले कालो चियाको ३० रुपैयाँ पुगेको अवस्थामा १५ रुपैयाँले खाजा खान नपुग्ने शाहीको भनाइ थियो । उनले कर्णालीका विद्यार्थीलाई दैनिक ५० रुपैयाँ खाजा खर्च र कापीकलम तथा किताब र ड्रेस सरकारले निःशुल्क दिनुपर्ने माग गरिन् ।

शाहीले एक शिक्षक बराबर ३० विद्यार्थी हुनैपर्ने सरकारको नीतिको पनि विरोध गरिन् । उनले दुर्गम क्षेत्रमा उक्त नीति लागु गर्दा बालबालिकालाई तीन चार घण्टा लगाएर विद्यालय जानुपर्ने अवस्था आएको बताइन् । उनको प्रश्न थियो, ‘कुनै ठाउँ यस्ता छन् कि तीन चार घण्टा लगाएर विद्यालय जानुपर्छ, विद्यार्थी बालबालिकहरू कसरी विद्यालय जान्छन् ?’