निर्मला हत्या प्रकरण : प्रमाण नष्ट हुँदा अनुसन्धानमा गाह्रो - Himal Post Himal Post
  • ९ आश्विन २०८१, बुधबार
  •      Wed Sep 25 2024
Logo

निर्मला हत्या प्रकरण : प्रमाण नष्ट हुँदा अनुसन्धानमा गाह्रो



कञ्चनपुर, । नयाँ आएको प्रहरीटोलीले एक महिनापछि निर्मला पन्त हराएको घरका रोशनी बम र बबिता बमलाई पक्राउ गरेर नयाँ शिराबाट अनुसन्धान थालेको छ। यसअघि स्थानीय र आफन्तले दबाब दिँदा समेत प्रहरीले बम दिदीबहिनीलाई पक्राउ गर्न आनाकानी गरेको थियो।

बम दिदीबहिनीबाट घटनाको रहस्य खुल्ने आशा स्थानीयले गरेका थिए। अघिल्लो शुक्रबार पक्राउ गरिएका बम दिदी बहिनीमध्ये रोशनीको सरकारी वकिल कार्यालयमा बयान भइसकेको छ भने बबिताको बाँकी छ। रोशनीले निर्मलाको हत्यामा आफूहरुको संलग्नता नरहेको र दिउँसो सबा २ बजे निर्मला आफ्नो घरबाट निस्केको बयान दिएकी छिन्। बम दिदीबहिनीको बयानबाट घटनाबारे तथ्य नखुलेमा प्रमाण धेरै नष्ट भइसकेकाले प्रहरीलाई अनुसन्धान गर्न जटिल देखिएको छ।

‘एक महिनापछिबाट अनुसन्धान गर्दा धेरै प्रमाण नष्ट भएको हुन सक्छ, घटनास्थलमा रहेका प्रमाण पानीले बगायो होला, कतिजनाले कुल्चे होलान्,’ कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायत भन्छन्, ‘सुरुको घटनास्थल देखेको भए एउटा माइन्ड सेट तयार भएर अनुसन्धानलाई साँघु र्याउँदै लैजान सहज हुन्थ्यो।’

प्रमाण नष्ट हुँदा अनुसन्धान गर्न गाह्रो भए पनि दोषी पत्ता लगाउन प्रयास भइरहेको उनले बताए। ‘पुराना मिसिल पनि अध्ययन गरिरहेका छौं, पुराना मिसिलका आधारमा सुरुको घटनास्थल र प्रमाणका बारेमा बुझिनेछ,’ उनले भने।

अम्बाको बोट काटिनु शंकास्पद

निर्मलाकी साथी रोशनीको बारीमा रहेको अम्बाको बोट काटिनुमा पनि धेरैले शंका उत्पन्न गरेका छन्। निर्मलाको साइकल र किताब भेटिएको ठाउँमा प्लास्टिकको झोलामा अम्बा भेटिएका थिए। घटनाको अघिल्लो दिन (साउन ९ गते) निर्मलाको घरमा पुगेकी रोशनीले अम्बा खान र विज्ञानको गृहकार्य गर्न भन्दै साउन १० गते आफ्नो घर बोलाएकी थिइन्। नागरिक दैनिकमा खबर छ ।