प्रधानमन्त्री ओलीलाई नेपालले दिए यस्तो चेतावनी ,दुई बीच खटपट सुरु - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

प्रधानमन्त्री ओलीलाई नेपालले दिए यस्तो चेतावनी ,दुई बीच खटपट सुरु



तत्कालीन एमाले र एकीकृत नेकपा माओवादी मिलेर बनेको नेकपामा जिल्ला नेतृत्व चयन गर्दा पार्टी अध्यक्ष ओली पक्षले एकलौटी गरेको आरोप लगाउँदै माधव नेपाल पक्ष असन्तुष्ट बनेको छ।

जिल्ला कमिटीहरूमा नेतृत्व चयन गर्दा पार्टी अध्यक्ष ओली पक्षले एकलौटी गरेको नेपाल पक्षको आरोप छ । पार्टीभित्र आफूहरूलाई पेलेर अघि बढ्ने नीति लिइए सह्य नहुने नेपाल पक्षको चेतावनी छ। यो खबर आजको नागरिक दैनिकमा सन्त खड्काले लेखेका छन्।

जिल्ला तहमा नेतृत्व चयन गर्दा ओली पक्षले पेलेको र स्थान नदिएको गुनासो लिएर नेपालनिकट नेताहरु काठमाडौं आउन थालेका छन् । नेतृत्व चयन गर्दा बदनीयत राखेर अन्याय गरिएको भन्दै अर्घाखाँची जिल्लाका पुराना नेता रामबहादुर चौहान काठमाडौं आएका छन्।

तत्कालीन एमाले जिल्ला सचिव रहेका चौहान अध्यक्ष चेतनारायण आचार्य प्रदेशसभा सदस्य र उपाध्यक्ष जीवनारायण कोइराला पार्टीको प्रदेश समिति सदस्य भएकाले वरियताक्रमअनुसार अध्यक्ष आफू हुनुपर्ने दाबी गर्छन्।

प्रदेश नम्बर ४ र ५ का अधिकांश जिल्लामा आफूहरूलाई पेलेर ओली पक्षले एकलौटी रुपमा जिल्ला नेतृत्व सिफारिस गरेको नेपाल पक्षको आरोप छ।

पूर्वएमाले र पूर्वमाओवादीबीच एकता भई बनेको नेकपामा जिल्ला तहको नेतृत्व बाँडफाँट भएको छ । अर्घाखाँची पूर्वएमालेको भागमा परेको छ । त्यस्तै पूर्वएमालेको भागमा परेको बाँकेमा पनि जिल्ला नेतृत्व चयनमा विवाद देखिएको छ।

त्यहाँ पनि ओली पक्षले माधव नेपाल समर्थक नेतालाई पेलेर जिल्ला अध्यक्ष सिफारिस गरेको छ । रोल्पा, कञ्चनपुरसँगै प्रदेश नम्बर ४ र ५ का अधिकांश जिल्लामा आफूहरूलाई पेलेर ओली पक्षले एकलौटी रुपमा जिल्ला नेतृत्व सिफारिस गरेको नेपाल पक्षको आरोप छ।

नेकपाका केन्द्रीय सदस्य जगन्नाथ खतिवडा विधिसम्मत ढंगले अघि नबढे पार्टी सञ्चालनमा समस्या आउने बताउँछन् । ‘नेतृत्व चयन गर्न विभिन्न कार्यदल बनेका छन्, ती कार्यदलले विधिसम्मत ढंगले काम गरे कुनै समस्या हुँदैन,’ खतिवडाले भने।