निर्मलाका बुवाले भने: सिआईबीले दुःख दियो - Himal Post Himal Post
  • ९ आश्विन २०८१, बुधबार
  •      Wed Sep 25 2024
Logo

निर्मलाका बुवाले भने: सिआईबीले दुःख दियो



कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा शंकाको घेरामा रहेका बम दिदीबहिनीमाथि थप अनुसन्धानका लागि अदालतबाट ६ दिनको म्याद थप भएको छ।

गत शुक्रबार पक्राउ परेका रोशनी र वविता बमको सोमबार म्याद थप गरिएको हो। यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ।

जिल्ला प्रहरीका एसपी कुबेर कडायतले उनीहरूसँग आवश्यक सूचना लिने र सोधपुछ भइरहेको जनाए । स्थानीयले शंकास्पद रूपमा हेरेको किशोरी पढ्न गएको बम परिवारको घर, शव भेटिएको स्थानलगायत क्षेत्रमा समेत अनुसन्धान गरिरहेको उनले जनाए।

‘उनीहरूबाट आवश्यक सूचना लिने र त्यसलाई पछ्याउने काम गरिरहेका छौं,’ उनले भने, ‘तत्कालै केही भनिहाल्ने अवस्थामा छैनौं।’ एसपी कडायतले यसअघि प्रहरीले सार्वजनिक गरेका भीमदत्त नगरपालिका २ बाग्फाँटाका दिलीप विष्टबारे पनि थप अनुसन्धान भइरहेको जानकारी दिए।

साताअघि जिल्ला प्रहरीले घटनाका मुख्य आरोपी भनिएका मानसिक अवस्था ठीक नभएका विष्टलाई सार्वजनिक गरेपछि स्थानीयले असन्तुष्टि जनाउँदै आन्दोलन चर्काएका हुन्।

आन्दोलनपछि गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीसहित एसपी र डीएसपी सबैलाई केन्द्र फिर्ता गरेर नयाँ अधिकारी पठाएको थियो । कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी दिल्लीराज विष्टलाई निलम्बन गरिएको छ।

नयाँ अधिकारी आएपछि घटनाको पुनः प्रारम्भिक रूपमै अनुसन्धान थालिएको छ । ‘हामीलाई उच्चस्तरीय छानबिन समितिबाट पनि केही सूचना प्राप्त हुनेछ,’ एसपी कडायतले भने, ‘यसले पनि अनुसन्धानमा सहज र सहयोग पुग्नेछ।’

सीआईबी टोली फर्कियो
घटनालगत्तै अनुसन्धानमा महेन्द्रनगर पुगेको सीआईबी टोली फिर्ता भएको छ । टोलीले गरेको अनुसन्धानसमेत शंकास्पद देखिएपछि फिर्ता भएको चर्चा छ।

गत सोमबार अभियुक्तका रूपमा विष्टलाई सार्वजनिक गरिएपछि सीआईबीप्रति स्थानीय आक्रोशित बनेका हुन् । मृतक किशोरीका बुवा यज्ञराज त सीआईबीको टोलीले अनावश्यक दबाब दिएर घरमा बस्नै नसकिने वातावरण बनाएको बताउँछन्।

‘अनुसन्धान त जिल्ला प्रहरीले नै गर्ने हो, सीआईबी त हामीलाई सहयोग गर्नमात्रै आएको हो,’ कडायतले भने, ‘अझ पनि प्राविधिक सहयोग सीआईबीले नै गर्नुपर्छ।’ साउन ११ गते किशोरीको शव भेटिएको दोस्रो दिन डीएसपी अंगुर जीसी नेतृत्वमा ३ सदस्यीय सीआईबी टोली यहाँ आएको थियो।