‘व्यापारको नाममा अपराध गर्ने छुट कसैलाई छैन :मन्त्री यादव - Himal Post Himal Post
  • २२ माघ २०८२, बुधबार
  •      Wed Feb 4 2026
Logo

‘व्यापारको नाममा अपराध गर्ने छुट कसैलाई छैन :मन्त्री यादव



काठमाडौं। सरकारले गैरकानूनी र अनियमित काम कारबाही गरी उपभोक्तालाई ठगी गर्ने जो कोहीलाई पनि कडा कारबाही गर्ने भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री मात्रिकाप्रसाद यादवले ‘व्यापारको नाममा अपराध’ गर्ने छुट कसैलाई नभएको बताए । गुणस्तरीय वस्तु वा सेवा सुपथ मूल्यमा प्राप्त गर्ने अधिकारको रक्षा गर्न सरकार सधैँ क्रियाशील रहने उनको भनाइ थियो ।

चाडवाड नजिकिएसँगै उपभोक्ता ठगिने श्रृङ्खला बढ्न सक्नेतर्फ सचेत हुनुपर्नेमा जोड दिँदै उनले भने, “बजार शुद्धीकरण अहिलेको प्रमुख आवश्यकता हो, जुनसुकै बहानामा उपभोक्ता ठगिनु हुँदैन, गुणस्तरीय वस्तु तथा सेवा उपभोग गर्न पाउनु जनताको अधिकार हो ।”

मन्त्री यादवले सरकारले बजार अनुगमन गरेको बहानामा कसैलाई पनि हडताल गर्ने छुट नभएको बताए । उनले भने, “दैनिक उपभोग्य वस्तु तथा सेवालाई प्रभावित पार्ने गरी हडताल गरे सरकार चुप लागेर बस्दैन, बजारलाई अव्यवस्थित बनाउन खोज्ने तत्वलाई सरकारले नियन्त्रण गर्छ ।”

जनतालाई मुलुकमा सरकार छ भन्ने अनुभूति दिलाउने गरी मन्त्रालयले कामकारबाहीलाई अगाडि बढाइरहेको जानकारी दिँदै मन्त्री यादवले भने, “पाइला पाइलामा जनता ठगिने क्रम बढेको छ, ठगी नियन्त्रण गर्न र उपभोक्ता अधिकारलाई स्थापित गर्न मन्त्रालयले आवश्यक ऐन, कानून निर्माणको तयारीमा जुटेको छ ।”

उनले कालीमाटी फलफूल तथा तरकारी बजारमा देखिएको बिचौलियाको अन्त्य गर्न मन्त्रालयले कृषि मन्त्रालयको समन्वयमा छानबिन शुरु गरेको बताए ।

उनले भने, “कृषकको खेतबारीदेखि थोक तथा खुद्रा बिक्रेतासम्म तरकारी संकलन, ढुवानी र बिक्री वितरणको प्रक्रिया नियमसंगत भए÷नभएको, कालिमाटी तथा फलफूल स्थलका स्टलको अवैध बेचबिखन, किसानले पाउने र उपभोक्ताले तिर्ने तरकारीको मूल्य निर्धारणबारे समितिले अध्ययन गर्नेछ, कानून सम्मत नभए सरकारले कडा कारबाही गर्नेछ ।” रासस