आन्दोलनले उग्र रुप लिएपछी भिमदत्त नगरपालिकामा साँझ ५ बजेदेखि कर्फ्यु जारी - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

आन्दोलनले उग्र रुप लिएपछी भिमदत्त नगरपालिकामा साँझ ५ बजेदेखि कर्फ्यु जारी



कञ्चनपुर जिल्ला प्रशासनले भिमदत्त नगरपालिकाको आन्दोलन प्रभावित क्षेत्रमा साँझ ५ बजेदेखि कफ्र्यु जारी गरेको छ।

भीमदत्त नगरपालिका वडा नं २ बस्ने १३ वर्षिया बालिका निर्मला पन्तको हत्यारालाई सार्वजनिक गरिनुपर्ने विषयलाई लिएर विभिन्न आन्दोलन भइरहेको र आन्दोलनले उग्र रुप लिई सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउन सक्ने कारण शान्ती भङ्ग हुन नदिनका लागि कर्फ्यु जारी गरिएको प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले बताए।

बिहीबार दिउँसो प्रेस विज्ञप्ति जारी गरी साँझ ५ बजेदेखि शुक्रबार विहान ७ बजेसम्म जारी गरिने प्रमुख जिल्ला अधिकारी खड्काले जानकारी दिए। विज्ञप्तिमा स्थानिय प्रशासन ऐन २०२८ को दफा ६ क बमोजिम कफ्र्यु जारी तोकिएको क्षेत्रमा बाहिर ननिस्कन, आवत जावत नगर्न, भेला वा जम्मा नहुन तथा कुनै प्रकारको गतिविधि नगर्न तथा नगराउन आदेश जारी गरिएको छ।

यदि जारी गरिएको आदेशलाई कसैले उल्लघंन गरेमा कडा कारबाही हुने विज्ञप्तिमा उल्लेख छ ।

कर्फ्यु जारी ताेकिएकाे क्षेत्र :

पूर्व–भीनपा १८ जनज्योती चोक भाँसीदेखि काराकारको पछाडिको नहर हुँदै मदन भण्डारी स्मृति प्रावि पछाडिको चोकसम्म।

पश्चिम–भिनपा–६ त्रिपुरा युवा क्लब वनगाउँको कार्यालयदेखि भिनपा–४ निङ्गलासैनी उच्च मावि पछाडिको नहरसम्म ।

उत्तर–जनज्योति चोक भाँसी देखि उत्तर नहर खैरेनी चोक, नहर हुँदै त्रिपुरा युवा क्लबको कार्यालय सम्म

दक्षिण–भिनपा–१८ मदन भण्डारी स्मृति प्रावि पछाडिको नहर चोकदेखि सीप विकास केन्द्र अगाडिको नहर हुँदै निङ्गलासैनी उच्च मावि पछाडिको नहर सम्म ।