बलात्कारपछि निर्मला हत्याकाण्ड : एसएसपी चन्द कन्चनपुरमा खटाइए  - Himal Post Himal Post
  • ९ आश्विन २०८१, बुधबार
  •      Wed Sep 25 2024
Logo

बलात्कारपछि निर्मला हत्याकाण्ड : एसएसपी चन्द कन्चनपुरमा खटाइए 



कञ्चनपुर । बलात्कारपछि हत्या गरिएकी बालिका निर्मलाको हत्या आरोपमा प्रहरीले अभियुक्त सार्वजनिक गरेपछि चर्केको आन्दोलन उग्र बनिरहँदा ७ नम्बर प्रदेश प्रहरीले एसएसपी विक्रमबहादुर चन्दलाई कञ्चनपुर पठाएको अन्नपूर्ण पोष्टमा खबर छ ।

७ नं प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक सुरज केसीले आन्दोलन उग्र बन्दै गएपछि शान्ति सुरक्षा कायम गर्न एसएसपी चन्दलाई पठाइएको बताए ।

‘त्यहाँको आन्दोलन उग्र बन्दै गएपछि अवस्था सामान्य पार्न एसएसपी खटाइएको हो’ उनले भने, ‘एसएसपी सा’बले त्यहाँ सहजीकरण गर्दै अनुसन्धानबारे पनि वास्तविक अध्ययन गर्नुहुनेछ ।’

उनले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र जिल्ला प्रहरी कार्यालयले नै अनुसन्धान गरिरहेको भन्दै एसएसपीले थप अनुसन्धानमा सहयोग गर्ने बताए । डीआईजी केसीले जिम्मेवारीसहित एसएसपी खटाएपछि अब निर्मला पन्त हत्याकाण्डको अहिलेसम्म भएको अनुसन्धानको वास्तविकता र बाँकी प्रक्रिया उनले नै हेर्ने छन् ।

कञ्चनपुरका एसपी डिल्लीराज विष्टले शान्ति सुरक्षा कायम गर्न नसकेकाले एसएसपी खटाइएको हो भन्ने प्रश्नमा उनले त्यसो नभएको दाबी गरे । तर प्रहरी स्रोतका अनुसार एसपी विस्टको सरुवा हुनुपर्ने र उनको अनुसन्धान सही ढंगबाट नभएको भन्दै आन्दोलन चर्किएपछि तत्कालका लागि एसएसपी खटाइएको हो ।

बलात्कारपछि निर्मला हत्याकाण्डमा अहिलेसम्म भएको अनुसन्धान र अबको छानबिनको सम्पूर्ण जिम्मेवारी एसएसपी चन्दले लिने प्रहरी स्रोतले जनाएको छ । नेपाल प्रहरीका प्रवक्ता एसएसपी शैलेश थापाले एसएसपी चन्दलाई अनुसन्धान प्रभावकारी बनाउनका लागि पठाइएको बताए । उनले कन्चनपुरका एसपी विस्ट त्यहीँ यथावत रहने पनि जानकारी दिएका छन् ।

७ नं प्रदेश प्रहरी कार्यालय अन्र्तगत दिपायलमा रहेका एसएसपी चन्दलाई बुधवार नै डीआईजी सुरज केसीले कञ्चनपुरको कमाण्ड सम्हाल्न निर्देशन दिएपछि महेन्द्रनगरका लागि हिँडेका छन् । उनले बिहीवारदेखि कमाण्ड सम्हाल्ने भएका छन् ।