सिटीले गर्‍यो आधा दर्जन गोल: अग्युरो चम्किए - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

सिटीले गर्‍यो आधा दर्जन गोल: अग्युरो चम्किए



पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटीले यो सिजन पनि आफ्नो जादुमयी प्रदर्शन कायम राखेको छ। गएको सिजन कीर्तिमानी अंकसहित लिग च्याम्पियन बनेको म्यानचेस्टर सिटीले यो सिजनका सुरुका दुई खेलमै आफू अझ बलियो भएर आएको संकेत दिएको छ ।

पहिलो खेलमा २–० को जित निकालेको म्यानचेस्टर सिटीले लिग अन्तर्गत आइतबार राति भएको आफ्नो दोस्रो खेलमा आधा दर्जन गोल गरेको छ । घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर सिटीले हडर्ल्सफिल्ड टाउनलाई ६–१ ले हराएको हो ।

पहिलो हाफमा तीन गोल गरेर एक गोल खाएको सिटीले दोस्रो हाफमा थप दुई गोल ग¥यो भने एउटा उपहार गोल पायो । सिटीको शानदार जितमा सर्जियो अग्युरो नायक बने । उनले ह्याट्रिक गरे ।

यस्तै गाब्रिएल जिसस र डेविड सिल्भाले एक एक गोल गरे । हडर्ल्सफिल्ड टाउनका कोन्गोलोले आत्मघाती गोल गरे । टाउनका लागि स्टानकोभिचले एक गोल फर्काएका हुन् ।

अग्युरोले २५, ३५ र ७५ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् । जिससले ३१ तथा सिल्भाले ४८ औँ मिनेटमा गोल गरे । त्यसअघि हडर्ल्सफिल्डका लागि ४३ औँ मिनेटमा जोन गोरेन्स स्टानकोभिकले एक गोल फर्काए । ८४ औँ मिनेटमा हडर्ल्सफिल्डका टेरेन्स कोन्गोलोले आत्मघाती गोल गरेपछि म्यानचेस्टर सिटी ६–१ ले विजयी भयो ।

पहिलो खेलमा आर्सनललाई उसले २–० ले हराएको थियो । अग्युरोले आफ्नो खेल जीवनको १३ औँ तथा प्रिमियर लिगमा नवौँ ह्याट्रिक प्रहार गरे ।

प्रिमियर लिगमा उनी भन्दा धेरै ह्याट्रिक प्रहार गर्ने एलन शिएरर हुन् । उनले ११ पटक ह्याट्रिक प्रहार गरेका छन् । प्रशिक्षक गार्डिवलाले अग्युरो निकै उत्कृष्ट रहेको बताएका छन् । लिग अन्तर्गत राति नै भएको खेलमा वाट्फोर्डले बर्नलीलाई ३–१ ले हराएको छ ।