सरकार बिरुद्ध सर्वोच्च पुगिन कामिनी
सरकारले पदमुक्त गरेपछि पुनर्बहालीको माग गर्दै नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले सर्वोच्चमा अदालतमा रिट दर्ता गरेकी छन् । आफूलाई अवधि तोकेर प्रतिस्पर्धाबाट नियुक्त गरे पनि सरकारले हटाएको भन्दै राजभण्डारीले पुनर्बहालीको माग गरेकी छन् ।
उनले नयाँ प्रबन्ध निर्देशक नियुक्तिको प्रक्रिया रोक लगाउन पनि माग गरेकी छन् । तत्काल अन्तरिम आदेश नभएमा आफूलाई अपूरणीय क्षति पुग्ने उनको जिकिर छ ।
भदौ १ गते दर्ता भएको रिटको पेसी न्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासमा तोकिएको छ । एकल इजलासको अन्तिम नम्बरमा रिटको पेसी परेको छ ।
फोरजी सेवा विस्तार गर्न नसकेको लगायतका कारण देखाएर सञ्चार मन्त्रालयले राजभण्डारीलाई स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरणपछि मन्त्रिपरिषदको साउन २९ गतेको बैठकले पदमुक्त गर्ने निर्णय गरेको थियो ।
सरकारले भने नयाँ प्रबन्ध निर्देशक नियुक्तिको प्रक्रिया अघि बढाइसकेको छ । सर्वोच्चले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेमा राजभण्डारीलाई हटाउने सरकारको निर्णय कार्यान्वयन हुनेछ ।