टेलिकमबाट कामिनी ‘आउट’, यस्तो छ ओलीको तयारी ?
सरकारले नेपाल टेलिकमको प्रवन्ध निर्देशकमा दिगम्बर झालाई नियुक्त गर्ने तयारी गरेको छ । उनलाई पुननियुक्ति गर्ने प्रस्ताव सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मन्त्रिपरिषद्मा केही पहिले नै पेश गरिसकेको छ ।
सञ्चारमन्त्री गोकुल बाँस्कोटाको विशेष पहलमा उनलाई नियुक्ती गर्न लागिएको प्रधानमन्त्री कार्यालय स्रोतले बतायो । तर, झालाई नियुक्त गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले ग्रिन सिग्नल दिएका छैनन् ।
ओली सरकारले देउवा सरकारका पालामा भएका सबै राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेसँगै झाको पद पनि धरापमा परेको थियो ।
प्रधानमन्त्री झालाई पुर्ननियुक्ती गर्ने पक्षमा हुनुहुन्न तर, मन्त्री बाँस्कोटा उनैलाई नियुक्त गर्ने पक्षमा हुनुहुन्छ । त्यसैले विवाद समाधान नभइ यसै भन्न सक्ने अवस्था छैन्’, स्रोतले काठमाण्डुटुडेसँग भन्यो ।
किन बिच्किए प्रधानमन्त्री ?
प्रधानमन्त्री ओली सरकारले तत्कालिन शेरबहादुर देउवा सरकारले गरेका राजनीतिक नियुक्ति खारेजीको निर्णयले झाको पद धरापमा परेको थियो । झा ओली सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेका थिए ।
झाले सर्वोच्चले अल्पकालिन आदेश जारी गरेसँगै रिट निवेदन फिर्ता लिएका थिए । अन्तरिम छलफलअगाडि नै उनले रिट फिर्ताको निवेदन दिएका थिए । उनले सरकारलाई सहज रुपमा काम गर्ने वातावरण बनाउन रिट निवेदन फिर्ता लिएको बताएका थिए ।
‘मैले सरकारलार्इ सहज रूपमा काम गर्ने वातावरण होस् भनेर रिट निवेदन फिर्ता लिएको हुँ । मैले निर्वाचन आचारसंहिता अनुसार नियुक्ति पाएको र अरूजस्तो राजनीतिक नियुक्ति नभएको भनेर सर्वोच्चमा रिट हालेको हुँ । त्यो आधारमा मैले अल्पकालीन अन्तरिम आदेश पनि पाएँ । तर सरकारले मलार्इ नचाहने र मैले पदमा बसिरहेर यो क्षेत्रलार्इ अघि बढ्न नदिने गर्यो भने मुलुकलार्इ नै घाटा हुने देखेर मार्गप्रशस्त गरेको हुँ’ निवेदन फिर्तापछि उनले भनेका थिए, ‘सरकारले चाह्यो भने मलार्इ निरन्तरता देला । होइन भने म पद ओगटेर बस्न चाहन्न ।’
एक कार्यकाल सकिएपछि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाका पालामा उनलार्इ पुनर्नियुक्ति गरिएको थियो । प्राधिकणको अध्यक्ष पदमा झालाई सरकारले २०६९ साल मंसिर १८ गते नियुक्त गरेको थियो ।
प्रधानमन्त्री एउटै व्यक्तिलाई पटक–पटक एउटै व्यक्तिलाई जिम्मेवारी दिन तयार छैनन् । नयाँ व्यक्तिलाई टेलिकमको जिम्मेवारी दिने पक्षमा रहेकाले उनले दोस्रो विकल्प खोज्न सुझाव दिएको स्रोतले बतायो । सरकारले नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई ७२ घण्टे स्पष्टिकरण सोधेको छ । यसअघि पनि उनको काम सन्तोषजनक नभएको भन्दै सरकारले स्पष्टिकरण सोधेको थियो ।
मन्त्रिपरिषद्को शुक्रबारको बैठकले राज भण्डारीको कार्यसम्पादन सन्तोषजनक नभएको भन्दै स्पष्टिकरण सोध्ने निर्णय गरेको हो । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशक भण्डारीलाई बोलाएर टेलिकमको कार्यप्रगतिबारे सोधेका थिए । उनको जवाफ चित्त नबुझेपछि प्रधानमन्त्रीले संचारमन्त्री गोकुल बास्कोटालाई गत वैशाखमा स्पष्टिकरण सोध्न निर्देशन दिएका थिए ।
झा पनि असफल भएकै कारण उनलाई नै फेरी जिम्मेवारी दिन नहुने पक्षमा प्रधानमन्त्री छन् ।