पूर्व सभामुख एवं बामपन्थी नेता चटर्जीको निधन
कोलकाता– भारतीय लोकसभाका पूर्व सभामुख एवं बामपन्थी नेता सोमनाथ चटर्जीको कोलकातामा सोमबार बिहान निधन भएको छ । उनी ८९ वर्षका थिए । श्री चटर्जी अगष्ट १० मा यहाँस्थित एक निजी अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । चिकित्सकका अनुसार उनलाई मुटुको समस्या थियो ।
भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी) का नेता श्री चटर्जी मृगौला रोगबाट थलिएका थिए । उनलाई शनिबार भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । गत जुलाईमा समेत उनलाई हृदयघात भएको थियो ।
सन् १९२९ जुलाई २५ तारिखमा जन्मिनुभएका चटर्जी १० पटकसम्म भारतीय लोकसभाका सदस्य रहेका थिए । भारतमा सबैभन्दा बढी लोकसभामा प्रतिनिधित्व गर्नेमध्येका उनी एक थिए । उनी सन् २००४ देखि २००९ सम्म भारतीय लोकसभाका सभामुख रहेका थिए ।