घोडाघोडी नगरपालिकामा पुनः तालाबन्दी
बिशाल पाण्डेय
सुखड , कैलाली । नेपाल बिद्यार्थी संघले कैलालीको घोडाघोडी नगरपालिकामा बुधबार पुनः तालाबन्दी गरेको छ । आफ्ना मागहरु प्रति नगर प्रमुख सकारात्मक नदेखिएको भन्दै नेबिसंघले दोस्रो पटक तालाबन्दी गरेको हो । यस अघि पनि नेपाल बिद्यार्थी संघले पहिलो पटक साउन १७ गते नगरपालिकामा तालाबन्दी गरेको थियो । नेबिसंघले बिद्यालय समायोजन तथा तह मिलान प्रकृया तत्काल स्थगित गर्न माग गर्दै आन्दोलन जारी राखेको थियो ।
नगरपालिकाले एकलौटी रुपमा आधारभूत तथा माध्यमिक शिक्षा कार्यिबधि २०७४ बनाएर बिद्यालयहरुको मिलान तथा कक्षा÷तह घटाउने काम गरेको भन्दै नेपाल बिद्यार्थी संघ लगायतका संघ संगठनहरुले बिरोध जनाएका हुन् । नगरपालिकाले सहमति पालना नगरेकाले पुनः तालाबन्दी गर्नुपरेको नेपाल बिद्यार्थी संघ घोडाघोडी नगर समितिका संयोजक कलक जंग सिंहले बताए ।
‘यस अघि नगर प्रमुख चौधरी, इलाका प्रशासन कार्यालयका प्रमुख दिनेश कुमार गुप्ता, नगरपालिकाका निमित्त प्रशासकीय प्रमुुख दिपक कुमार आचार्य, वडा नम्बर १ का वडा अध्यक्ष मनराज शाही सहित भएको छलफलमा एउटा बार्ता टोली बनाई अगाढी बढ्ने सहमति भएको थियो र त्यो सहमति अनुुसार काम नहुदा पुन: तालाबन्दी गरेको नेबिसंघ घोडाघोडी नगर संयोजक सिंहले बताए ।’
बिद्यालयको गुणस्तर, भौतिक पुर्वाधार, शिक्षाको सिकाई, बिद्यार्थीहरुको सहभागिता लगायत बिभिन्न क्षेत्रमा मुल्यांकन पछि नगर क्षेत्रमा रहेको ५७ विद्यालयमध्ये चार विद्यालय समायोजन र ९ विद्यालयको तह घटुवा गरेको छ । यसैको बिरोधमा संघर्ष समिति गठन गरि केही दिन यता निरन्तर र्याली, धर्ना लगायतका कार्यक्रम गरिरहेको छ ।
घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीले आफू कार्यालय बाहिर रहेको बताउँदै तालाबन्दी गरिएको खबर आएको र ताला खुलाउनका लागि बिभिन्न पक्षसँग छलफल भइरहेको बताए ।