कांग्रेस नेता चन्द्र भण्डारीको अलग धार !
काठमाडौंः नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले पार्टीमा व्यक्तिवाद र परिवारवाद हावी भएको बताएका छन्।
उनले सभापति शेरबहादुर देउवाको आलोचना गर्दै अहिलेको पार्टी नेतृत्व भ्रष्ट्राचार र दलालिकरणमा फसेको बताए। साथै उनले कांग्रेस नेतृत्वले नागरिकता बेचेर खानेहरुसँग हातमुख जोडिरहेको समेत आरोप लगाए। कांग्रेसको १३ औं महाधिवेशनमा भण्डारी रामचन्द्र पौडेलको गुट छोडेर देउवा गुटमा आएका थिए।
भण्डारी अहिले फरक धारमा देखिएका छन् । नेविसंघले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन्। पौडेल समूह र कृष्णप्रसाद सिटौला समूह निकटले काठमाडौंमा कार्यक्रम गरेको थियो।
भण्डारीले कांग्रेस समय अनुसार नचल्दा र विगतका गल्तीहरुबाट पाठ सिकेर अघि नढ्दा अहिलेको अवस्थामा आएको समेत बताए। उनले पार्टी नेतृत्वमा देखिएको कमजोरी नेविसंघमा पनि देखिएको बताए।
‘नेविसंघको ११ औं महाधिवेशनमा मनोजमणि आचार्यलाई हटाएर चिन्दै नचिनेको मान्छेलाई ल्याउँदा यस्तो भएको हो,’ उनले भने, ‘नेविसंघले दुई वर्षसम्म केही पनि गर्न सकेको छैन।’ उनले कांग्रेसमा क्षमताले भन्दा पनि दासताले अवसर पाउने अवस्था आएको समेत बताए।