ओली र श्रेष्ठलाई अख्तियारले पक्रियो ! - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

ओली र श्रेष्ठलाई अख्तियारले पक्रियो !



काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलंकीका सर्वेक्षक हरि ओली र कार्यालय सहयोगी अमरलाल श्रेष्ठलाई आज रु १५ हजार घुस लिएको आरोपमा नियन्त्रणमा लिएको छ ।

जग्गाको कित्ताकाट ट्रेस नक्शा तयार पार्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिइरहेको भनिएको अवस्थामा आयोगको टोलीले उनीहरुलाई रकमसहित कार्यालय परिसरबाटै नियन्त्रणमा लिएको आयोगका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।

यसैगरी आयोगले भूमिसुधार कार्यालय मोरङका नासु दामोदर खतिवडाविरुद्ध बिगो रु ३० हजार जरिवाना र कैद सजाय माग दावी लिई आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

आमाका नाममा मोहियानी हक कायम भएको जग्गा बाँडफाँड गरी नामसारी गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग आयोगको कार्यालय इटहरीले खतिवडालाई रु ३० हजार घुसबापतको रकम लिइसकेको भनिएको अवस्थामा नियन्त्रणमा लिई अनुसन्धान गर्दा उनले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम कसूर गरेको देखिन आएको जनाई आरोपपत्र दायर गरिएको प्रवक्ता दंगालले जानकारी दिए ।