इन्काउन्टर काण्ड: अजयका बाबुको प्रश्न पक्रेको मान्छेलाई चौकी लाने कि जंगल ? - Himal Post Himal Post
  • ३ माघ २०८१, बिहीबार
  •      Thu Jan 16 2025
Logo

इन्काउन्टर काण्ड: अजयका बाबुको प्रश्न पक्रेको मान्छेलाई चौकी लाने कि जंगल ?



प्रहरी इन्काउन्टरमा मारिएका नुवाकोटका गोपाल तामाङ र अजय तामाङको प्रहरीले गैरन्यायिक काम गरेको दाबीसहित राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दर्ता भएको छ ।

अजयका बुबा निमा तामाङ, मामा नुवाकोटको मेघाङ गाउँपालिकाका अध्यक्ष आशबहादुर तामाङ लगायतले बुधबार आयोगमा पुगेर प्रहरी ‘इन्काउन्टर’ माथि छानबिन गर्न मागसहित उजुरी दर्ता गरेका हुन् ।

यसअघि आइतबार साँझ काँडाघारीबाट ११ वर्षीय बालक निशान खड्का अपहरित भएका थिए । र, प्रहरीले अनुसन्धानका क्रममा भक्तपुरमा ठिमी नगरपालिकास्थित एक घरमा बालकको शव गाडिएको अवस्थामा फेला पारेको थियो ।

लगत्तै, सोमबार दिउँसो भक्तपुरको डोलेश्वरस्थित जंगलमा प्रहरी मुठभेडमा दुई जना मारिएका थिए ।

अजयका बुबा निमाद्वारा दिइएको उजुरीमा घटनाको निष्पक्ष छानबिन गर्न माग गरिएको छ ।

‘जो कोही अपराधीलाई कानुन अनुसारको कारबाही हुनुपर्छ । तर, प्रहरीले पक्रेको मान्छेलाई प्रहरी चौकी लानु पर्छ कि जंगल ?’, बुबाले प्रश्न गर्दै उजुरीमा लेखेका छन्, ‘यो घटनामा उनीहरुको मात्र हात नभइ अरु व्यक्तिको समेत संलग्न हुन सक्ने सम्भावना भएकाले राम्रोसँग छानबिन भइ पाउँ ।’

उनले सञ्चार माध्यममा अपराधी भनिएको व्यक्तिलाई ८ देखि १० गोली लागेको उल्लेख गरिएको बताउँदै त्यसरी गोली लागेपछि पनि छोराको हातमा कसरीले पेस्तोल रहिराख्यो भन्ने प्रश्न समेत गरेका छन् ।

‘घरबाट पक्राउ गरेर लगेको मान्छे कसरी जंगल पुग्यो रु’, उनले अगाडि भनेका छन्, ‘निष्पक्ष अनुसन्धान गरी न्याय दिलाइ पाउँ ।’