सतक पुरा गरेपनि किन निरास भए विराट कोहली ?
भारतका कप्तान विराट कोहलीले इंग्ल्याण्डमा आफूले बनाएको पहिलो शतकको कुनै अर्थ नरहेको बताएका छन् ।
बर्मिङ्गघममा भएको पहिलो टेस्ट क्रिकेटमा टिम पराजित भएकाले व्यक्तिगत रुपमा आफूले बनाएको शतकको कुनै अर्थ नरहेको कोहलीले बताएका हुन् ।
इंग्ल्याण्ड भ्रमणमा रहेको कोहलीको कप्तानीमा रहेको भारतीय टोली पाँच टेस्ट शृङ्खलाको पहिलो खेलमा घरेलु टोलीसँग ३१ रनले पराजित भयो ।
पहिलो पारीमा कप्तान कोहलीले १४९ बनाएका थिए । यो उनको इंग्ल्याण्डमा पहिलो शतक थियो । दोस्रो पारीमा उनले ५१ रन बनाए । तर टिम ३१ रनले पराजित भयो ।
चार वर्षअघि इंग्ल्याण्ड भ्रमणको बेला कोहलीको औसत रन मात्रै १३.४० थियो । तर चार वर्षपछि कप्तानको रुपमा भएको भ्रमणमा उनको व्यक्तिगत प्रदर्शनमा आकाश जमिनको फरक भएको छ ।
तर टिमले पहिलो टेस्टमा जित निकाल्न नसक्दा कप्तान कोहली निराश छन् ।
कोहलीले भने, ‘जब ध्यान ठूलो क्यानभासमा हुन्छ, त्यो बेला यस्ता साना चिज (व्यक्तिगत शतक, अर्धशतक) को अर्थ रहँदैन ।’
खेलाडी मात्रै हुँदा र कप्तान हुँदाको अवस्था भिन्न हुने उनले बताएका छन् । कप्तानका रुपमा व्यक्तिगत प्रदर्शन भन्दा पनि टिमको सफलता महत्वपूर्ण हुने कोहलीको भनाई छ ।
ध्यान व्यक्तिगत आँकडा भन्दा पनि टिमको आँकडा र सफलताका लागि रहेको कप्तान कोहलीले बताए ।