फ्यान निराश गराउने गरी रोनाल्डोको विकल्प तयार - Himal Post Himal Post
  • १ पुष २०८२, मंगलवार
  •      Tue Dec 16 2025
Logo

फ्यान निराश गराउने गरी रोनाल्डोको विकल्प तयार



रियल मड्रिडका प्रशिक्षक जुलियन लोपेतेगीले क्लबमा स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोको ठाउँ लिने खेलाडी तय गरिसकेको स्पेनिस सञ्चारमाध्यमले दाबी गरेका छन् ।

रोनाल्डो ११२ मिलियन युरोमा इटालियन च्याम्पियन युभेन्टस गएपछि युरोपियन च्याम्पियन रियल मड्रिडमा उत्पन्न भएको खाली पूरा गर्ने खेलाडीको रुपमा रोबर्ट लेवान्डोस्की, ह्यारी केनदेखि एडिसन काभानी र इडन हजार्डलाई हेरिएको छ । यी मध्ये एकलाई क्लब भित्र्याउने रियल प्रयासरत रहेको खबर पनि आइरहेका छन् ।

तर लोपेतेगीले भने रोनाल्डोको ठाउँमा प्रयोग गर्ने खेलाडी रोजिसकेको स्पेनिस प्रशासन एएसले दाबी गरेको छ । त्यसका लागि लोपेतेगीले ९ नम्बर जर्सी लगाउने रियल मड्रिडको २१ वर्षमुनिको टिमका बोर्जा मायोरललाई रोजेको दाबी गरिएको छ ।

युवा खेलाडी मायोरलमा लोपेतेगीले विश्वास गरेको एएसले उल्लेख गरेको छ । मायोरलले गएको सिजन लोनमा वुल्फबर्गमा १९ खेलमा दुई गोल गरेका थिए । उनले रोनाल्डोले छोडेपछि उत्पन्न भएको खाली भर्न सक्ने लोपेतेगीको विश्वास छ ।

तर रियल मड्रिडका समर्थक भने क्लबको छनौटबाट त्यति खुशी रहेका छैनन् । गएको ९ वर्ष क्लबका लागि हरेक सिजन कम्तिमा ४० को हाराहारीमा गोल गरेका रोनाल्डोको ठाउँ लिन उस्तै उत्कृष्ट खेलाडी ल्याउनु पर्ने फ्यानको भनाई छ ।

मायोरल रियल मड्रिडकै उत्पादन हुन् । सन् २००७ मा रियल एकेडेमीमा आएका उनले रियल मड्रिड बी बाट ३८ खेल खेलेका छन् ।