नारायणकाजीले ओलीलाई यसरी दिए दनक !
काठमाडौं- प्रायजसो कार्यक्रममा प्रधानमन्त्री ओली निकै ढिलो पुग्छन र बोल्दाबोल्दै लामो समय खर्चिन्छन । आज पनि एउटा कार्यक्रममा यस्तै भयो जहा प्रचण्ड, ओली र नारायणकाजी बक्ता थिए ।
तुल्सीलाल स्मृति दिवसको कार्यक्रम थियो, ओलीले ढिला गरेका कारण कार्यक्रमको समय पछाडी धकेलियो, प्रचण्ड आएपछि कार्यक्रमको सुरु गरियो तर प्रचण्ड र नारायणकाजीले बोलेर सक्दासम्म पनि ओली उपस्थित थिएनन ।
यहि मौका पारेर अध्यक्ष नै ढिलोगरी आएको कार्यक्रममा नारायणकाजी श्रेष्ठले कार्यक्रमहरु समयमा सुरु गर्न नसक्ने पार्टीको परम्पराप्रति रोष प्रकट गरेका छन्। र भने यसरी ढिला आउने कार्यक्रममा आएका जनतालाई दुख दिने कम्युनिष्ट हुने सक्दैनन् ।
२१औं तुल्सीलाल स्मृति दिवसमा ललितपुरको च्यासलमा आयोजित कार्यक्रममा बोल्दै श्रेष्ठले समयको महत्व नबुझ्ने कम्युनिष्ट हुन नसक्ने बताए। उनले समयमा कार्यक्रम सुरु हुन नसके आइन्दा आफू कार्यक्रममा नबस्ने स्पष्ट पारे। कार्यक्रम ढिलो हुदाँ १५ मिनेटभन्दा बढी समय पर्खन नसक्ने उनले बताए। श्रेष्ठले पार्टी सचिवालयको बैठकमा निर्धारित समयमा कार्यक्रम गर्नेगरी निर्णय गरिएको पनि स्मरण गराए।
तुल्सीलाल स्मृति दिवसमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम थियो। दुवै अध्यक्ष निर्धारित समयमा पुग्न नसकेपछि कार्यक्रम ढिलो गरी सुरु भएको थियो। अध्यक्ष प्रचण्ड आएसँगै स्मृतिसभा सुरु गरिएको थियो। श्रेष्ठ र प्रचण्ड बोलेर बाहिरिँदासम्म पनि प्रधानमन्त्री ओली भने कार्यक्रममा पुगेका थिएनन्।
नेता श्रेष्ठले सभाहरुमा आसन ग्रहणका लागि धेरै व्यक्तिको नाम बोलाउने परम्पराको पनि अन्त्य गर्नुपर्नेमा जोड दिएका थिए।