प्रचण्डले भने: पुष्पकमल दाहाल बाहुन हो, प्रचण्ड होईन !
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेका नेताहरुमध्ये सबैभन्दा बढी बोझ आफ्नो काँधमा रहेको दाबी गरेका छन्।
आदिवासी जनजाति दिवसका सन्दर्भमा बिहिबार काठमाडौंमा आयोजित ‘नेपालमा संघीयता कार्यान्वयन र जातीय पहिचानको सवाल’ विषयक अन्तरक्रियाम बोल्दै प्रचण्डले अरु नेताका लागि ‘आए आँप गए झटारो’ जस्तै भएको बताए।
प्रचण्डले विगतका आन्दोलन र तिनले स्थापित गरेका मान्यताहरु अघि बढाउने बोझ आफुलाई जति अरु नेतालाई नभएको दावी गरेका हुन्। उनले भने, ‘नेपालमा भएका नेताहरु मध्ये सवैभन्दा धेरै बोझ कसैलाई छ भने मलाई नै हो। अरुलाई त के छ र ‘आए आँप गए झटारो।’
अध्यक्ष प्रचण्डले विगतमा पहिचानको निम्ती लड्न खोज्दा आफुलाई बम हानेर मार्न खोजिएको पनि बताए। ‘विगतमा पहिचानका निम्ती म लड्छु भन्दा मलाई चाँही बम हानेर मार्न खोज्ने अनि अहिले आएर म चाँही पहिचानको पक्षमा छु भन्दा के हुन्छ होला?’ प्रचण्डले प्रश्न गरे।
उनले आफुलाई पुष्पकमल दाहाल भन्दा प्रचण्ड नै भन्न मन पर्ने बताए। ‘पुष्पकमल दाहाल नामसँग बाहुन जोडिएको तर प्रचण्ड नामसँग विभिन्न जात, जनजाति, क्षेत्र, वर्ग समुदायको संवेदना जोडिएको छ। तर यहाँका ठुला मिडिया र एउटा बर्गले मलाई प्रचण्ड भन्दैन, उनले भने, ‘प्रचण्डबाट झार्न चाहान्छ।’
प्रचण्ड बन्ने, पहिचान कायम गर्ने लगायतका विषयसँग जोडिएको लडाई अझै नटुंगिएको उनले बताए।