फरक दलका सभामुख र उपसभामुख हुनुपर्ने भन्दै रिट दायर - Himal Post Himal Post
  • ९ माघ २०८१, बुधबार
  •      Wed Jan 22 2025
Logo

फरक दलका सभामुख र उपसभामुख हुनुपर्ने भन्दै रिट दायर



बुटवल – प्रदेश सभाका सभामुख र उपसभामुख फरक–फरक राजनीतिक दलका हुनुपर्ने माग गर्दै ५ नम्बर प्रदेशको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले रिट दायर गरेको छ ।

उच्च अदालत तुलसीपुर बुटवल इजालसमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसबाट उपसभामुख पदकी उम्मेदवार बनेकी रिना नेपाल विश्वकर्माले रिट दायर गरेकी हुन् । प्रदेश सभामा एउटै पार्टीको सभामुख र उपसभामुख भएकाले त्यो संविधान विपरीत हुँदा पुनः निर्वाचन गरेर फरक–फरक दलको सभामुख र उपसभामुख हुनुपर्ने माग राख्दै आफूले रिट दायर गरेको उनले बताइन् ।

रिट निवेदनमा प्रदेश सभा सचिवालय (व्यवस्थापिका), नेकपा संसदीय दलका नेता शंकर पोखरेल, प्रदेशसभा सचिवालय, सभामुख पूर्णबहादुर घर्ति र उपसभामुख कृष्णी थारुलाई विपक्षी बनाइएको छ । अधिवक्ता कृष्ण पोखरेलले सरकारले संविधानको मर्म विपरीत एउटै दलका २ नेतालाई सभामुख र उपसभामुख बनाएकाले संविधानतः उपसभामुख प्रतिपक्षले पाउनुपर्ने मागसहित रिट दर्ता गरेको बताए ।

नेपालको संविधानको धारा १८२ को उपधारा (२) को (१) मा प्रदेश सभामुख र उपसभामुख फरक–फरक दलको हुनुपर्ने र सभामुख वा उपसभामुखमध्ये १ जना महिला हुनुपर्ने उल्लेख छ ।  रिट निवेदनमा फरक–फरक लिङ्गको सभामुख र उपसभामुख हुनुपर्ने समेत माग गरिएको छ । पार्टी एकता हुनुअघि प्रदेशमा सभामुखमा पूर्णबहादुर घर्ति तत्कालीन माओवादीबाट तथा एमालेबाट कृष्णी थारु उपसभामुख भएकी थिइन् । उपसभामुखको निर्वाचन फागुन ५ गते भएको थियो ।

तर, तत्कालीन माओवादी र एमालेबीच जेठ ३ गते पार्टी एकता भएपछि प्रतिपक्ष दलले अब पार्टी एक भएकाले सभामुख आफूले पाउनुपर्ने दावी गरेको छ । रिट दर्ता गर्दा नेपाली कांग्रेस संसदीय दलका नेता बलदेव शर्मा पोखरेल समेत रहेका थिए ।