देशभर महंगी र करवृद्धिको विरोध - Himal Post Himal Post
  • ३ माघ २०८१, बिहीबार
  •      Thu Jan 16 2025
Logo

देशभर महंगी र करवृद्धिको विरोध



विराटनगर – नेपाली कांग्रेसले विराटनगरमा बृहत् विरोध सभा गरेको छ ।

विराटनगरको वीरेन्द्र सभागृहबाट निकालेको र्याली विराटनगरको महेन्द्र चोकमा पुगेर विरोध सभामा परिणत भएको थियो । लोकतन्त्रपछि देश संघीयतामा जाँदा पनि जनताले सास्तीबाहेक केही पाउन नसकेको सभामा बोल्ने कांग्रेस नेताले आरोप लगाए ।

महंगी र कर वृद्धिको विरोधमा नेपाली कांग्रेसले १ नम्बर प्रदेशको अस्थायी राजधानी विराटनगरमा बृहत् प्रदर्शनसहित विरोध सभा आयोजना गरेको हो । मोरङका विभिन्न गाउँबाट विराटनगमा भेला भएका कांग्रेस कार्यकर्ता तथा सर्वसाधारणले सरकारको विरोधमा नारा लगाउँदै विराटनगर बजार परिक्रमा गरेका थिए ।

विभिन्न ठाउँबाट वीरेन्द्र सभागृह र सहिद रंगशाला क्षेत्रमा भेला भएका कांग्रेस कार्यकर्ताको र्याली गोल्छामोड मेनरोड र ट्राफिक चोक हुँदै महेन्द्र चोकमा पुगेर सभामा परिणत भएको थियो । सरकारले वृद्धि गरेको करको विरोधमा नारावाजी गर्दै अघि बढेको जुलुसमा महिलाको उल्लेख्य सहभागिता थियो ।

विरोध सभालाई सम्बोधन गर्दै पूर्वमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले सरकारको चरित्र र व्यवहार अधिनायकवाद उन्मुख भएको आरोप लगाए । रिजालले भने, ‘दुईतिहाईको दम्भ देखाउँदै नेकपा सरकारले जनहित विरोधी कामलाई प्रश्रय दिइरहेको छ ।’

केन्द्रीय सदस्य अमृत अर्याल र केन्द्रीय सदस्य तथा सांसद डा. डिला संग्रौलाले महिलाको विषयमा जथाभावी अभिव्यक्ति दिएर मानमर्दन गर्ने मन्त्रीले राजीनामा दिएपनि त्यसमा संलग्न अन्य व्यक्तिलाई पनि कारवाही हुनुपर्ने माग राखे ।

नेता अशोक कोइरालाले कम्यूनिस्ट सरकारले जनताको पक्षमा काम गर्न नसक्ने दाबी गरे । प्रदेश सभाका सदस्य केदार कार्कीले कम्यूनिस्ट सरकारबाट जनताले धेरै राम्रा चिजको अपेक्षा गर्न नसक्ने बताए ।

कार्यक्रममा कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बू, तरुण दलका जिल्ला अध्यक्ष सञ्जय थापाले युवाहरू सरकारको दमनविरुद्ध आन्दोलित हुन तयार रहेको बताए ।