यस्ता छन जोशीविरुद्धका प्रमाण - Himal Post Himal Post
  • ९ आश्विन २०८१, बुधबार
  •      Wed Sep 25 2024
Logo

यस्ता छन जोशीविरुद्धका प्रमाण



संसदीय सुनुवाइ समिति स्रोतका अनुसार प्रस्तावित प्रधानन्यायाधीश जोशीको शैक्षिक सर्टिफिकेटदेखि जन्ममितिसम्म विवादास्पद भेटिएको छ।

समिति स्रोतले दिएको गोप्य डकुमेन्टअनुसार जोशीले विजय मेमोरियल स्कुलबाट ०२७ मा प्रवेशिका परीक्षा दिएका छन् । नेपाल राष्ट्रिय विद्यापीठबाट जोशीले ०२९ मा प्रवेशिका परीक्षा दिएकोसमेत प्रमाणपत्रमा उल्लेख छ ।

समितिमा जोशीले आफूले विजय मेमोरियल स्कुलमा १० कक्षा पढेको र नेपाल राष्ट्रिय विद्यापीठबाट प्रवेशिका परीक्षा दिएको बताएका छन् । ‘०२७ मा विजय मेमोरियल स्कुलबाट एसएलसी अर्थात् त्यसवेला भनिने प्रवेशिका परीक्षा दिएको प्रमाण भेटिएको छ । उनको सिम्बोल नम्बर १२५८ बी हो,’ समिति स्रोतले भन्यो। यो खबर आजको नयाँ पत्रिका दैनिकमा कृष्ण कट्टेलले लेखेका छन्।

त्रिविको नेपाल ल क्याम्पसमा जोशीले बुझाएको प्रोगेस रिपोर्टमा विजय मेमोरियल स्कुलबाट प्रवेशिका परीक्षा दिएको र त्यतिवेलाको सिम्बोल नम्बर ३६६७ भनिएको छ । उनकै अर्को शैक्षिक प्रमाणपत्रमा नेपाल राष्ट्रिय विद्यापीठबाट ३६६७ सिम्बोल नम्बरमा प्रवेशिका परीक्षा दिएको उल्लेख छ।

‘विजय मेमोरियल र नेपाल राष्ट्रिय विद्यापीठ दुवैबाट प्रवेशिका दिए । दुवैको सिम्बोल नम्बर एउटै भएको डकुमेन्टमा उल्लेख छ, एउटा संस्कृत स्कुल अर्को जनरल स्कुल । यस्तो कसरी हुन्छ?’ स्रोतले भन्यो ।

डिल्लीबजारको विजय मेमोरियल स्कुलबाट जोशी वीरगन्जमा संस्कृत पढ्न गएकोसमेत जनाइएको छ । स्रोतका अनुसार दुईतिर कसरी एउटै सिम्बोल नम्बर भयो भन्ने प्रश्नमा जोशीले आफूले टेस्टसम्म विजय मेमोरियल र त्यसपछि नेपाल राष्ट्रिय विद्यापीठमा पढेकाले त्यस्तो भएको भन्ने अपत्यारिलो जवाफ दिने गरेका छन्।

जोशीले आफ्नो दाबी गरेको सिम्बोल नम्बरमा हिमबहादुर लेकाली
क्याम्पसमा जोशीले पेस गरेको प्रोगेस रिपोर्टमा विजय मेमोरियलबाट ०२९ मा एसएलसी गरेको उल्लेख छ । तर, उनले ०२७ मा एसएलसी दिएको अर्को डकुमेन्ट सुरक्षित छ । ‘परीक्षा नियन्त्रण कार्यालयमा हेर्दा ०२९ मा ३६६७ सिम्बोल नम्बरमा हिमबहादुर लेकालीले परीक्षा दिएको भेटिन्छ । लेकालीले नारायण विद्या मन्दिर हाईस्कुल काठमाडौंबाट परीक्षा दिएका हुन्।

जोशीको सर्टिफिकेटले यो सिम्बोल नम्बर जोशीकै हो र ०२९ मा विजय मेमोरियलबाट एसएलसी दिएको भन्ने छ । तर, ०२९ मा विजय मेमोरियलको एसएलसीको सिम्बोल नम्बर १५१७३ देखि १५२३० सम्म मात्र छ । ०२९ को लिस्टमा दीपकराज जोशी भन्ने मान्छे नै छैन,’ स्रोतले भन्यो।

जन्ममितिसमेत फरक
विजय मेमोरियलबाट ०२७ मा एसएलसी दिएका जोशीको जन्ममिति २४ कात्तिक ०११ भन्ने उल्लेख छ । तर, अन्य डकुमेन्टमा जोशीको जन्ममिति एक महिनाअघि अर्थात् २४ असोज ०११ छ । स्रोत भन्छ, ‘जन्ममितिदेखि सर्टिफिकेटसम्म विवादास्पद छ ।’ जोशीको विजय मेमोरियल स्कुलमा अध्ययन गर्दाको कक्षा ९ को सर्टिफिकेट र कक्षा १० को सर्टिफिकेटमा विद्यालयको लेटरहेड नै फरक भेटिएको छ।

एउटा लेटरहेडमा विद्यालयको नाम अंग्रेजी अक्षर ‘बी’ र अर्कोमा ‘भी’बाट सुरु भएको छ । त्यति मात्र नभई एउटै स्कुलको नाम लेटरहेडमा विजय लेख्दा एउटामा ‘बी’बाट र अर्कोमा ‘भी’बाट सुरु भएको छ । त्यस्तै विद्यालयको नामलगत्तै एउटामा ‘को एजुकेसन’ र अर्कोमा ‘गभर्मेन्ट रेकोग्नाइज्ड‘’ भनिएको छ।

समितिको अंकगणित
१५ सदस्यीय समितिको ‘सम्पूर्ण सदस्य संख्याको दुईतिहाइ बहुमतबाट अस्वीकृत नभए अनुमोदन भएको मानिने’ भन्ने संसद् नियमावलीमा व्यवस्था छ । समितिका १५ मध्ये १० जना सदस्यले प्रस्तावित नाम अस्वीकृत नगरे संवैधानिक परिषद्ले सिफारिस गरेको नाम अनुमोदन हुनेछ।

तर, समितिको सम्पूर्ण सदस्यको दुईतिहाइ बहुमतबाट अस्वीकृत भए प्रस्तावित नामको व्यक्ति सम्बन्धित पदमा नियुक्त हुन नसक्ने व्यवस्था छ।

हालको सुनुवाइ समितिमा नेकपाका नौ र फोरमका एक गरी सत्तारुढ दलको १० अर्थात् दुईतिहाइ छ । कांग्रेसका चार र राजपाबाट एकजना सुनुवाइ समितिमा सदस्य छन् । राजपाका लक्ष्मणलाल कर्णले ज्येष्ठताका आधारमा समितिको अध्यक्षता गरिरहेका छन् । मत विभाजन भई निर्णायक मत दिनुपर्ने अवस्था नआएसम्म उनले मतविभाजनमा सहभागिता जनाउन पाउनेछैनन्।

अस्वीकार गर्ने सत्तारुढ दलको तयारी
संसदीय सुनुवाइ समितिमा प्रतिनिधित्व गर्ने सत्तारुढ दलका सांसदहरूले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको नाम अस्वीकृत गर्ने निर्देशन पाइसकेका छन् । निर्देशन कार्यान्वयन गर्न नेकपा उपनेता सुवास नेम्वाङ, पूर्वमहान्यायाधिवक्ता हरि फुँयाललगायत कानुन व्यवसायीले सोमबार नै सुनुवाइ समितिमा रहेका सत्तारुढ दलका सांसदसँग छलफल गरेका थिए।

‘सकेसम्म सर्वसम्मत अस्वीकृत गर्ने र कांग्रेसले नमाने मात्र सत्तारुढ दलको दुईतिहाइ बहुमतलाई प्रयोग गर्ने भन्ने पार्टी नेतृत्वबाट आएको छ,’ सत्तारुढ दलका एक सांसदले भने । यो विषय बुधबारको बैठकबाट नै सर्वसम्मत वा दुईतिहाइ बहुमतबाट अस्वीकृत गर्ने सत्तारुढ दलको तयारी छ।