कारवाही गर्ने हिम्मत छैन, यो सरकार नपुंशक हो-लेखक
कञ्चनपुर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता रमेश लेखकले राहत पाउने आशमा बसेका जनतालाई कम्युनिष्ट नेतृत्वको सरकारले आहत दिएको दाबी गरेका छन् । गृहजिल्ला कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा मंगलबार सरकारका जनविरोधी क्रियाकलापका विरुद्ध आयोजित विरोध प्रदर्शनका क्रममा नेता लेखकले यस्तो दाबी गरेका हुन् ।
‘‘शान्ति सुरक्षाको प्रत्याूभति छैन । जनताले सरकारबाट राहत पाउँला भनेर आशा गरेका थिए । तर कम्युनिष्ट नेतृत्वको वर्तमान सरकारले राहतको सट्टा जनतालाई आहत मात्रै दिएको छ,’’ स्थानीय मदन चोकमा आयोजित कोणसभामा उनले भने ।
सत्ताधारी ने क पाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पटक–पटक क्रान्तिकारी छलाङ भन्ने गरेको स्मरण गर्दैै कांग्रेस नेता लेखकले कम्युनिष्ट सरकारले अपराधी बचाउने क्रान्तिकारी छलाङ मारेको टिप्पणी गरे । ‘‘प्रचण्डजी समय–समयमा क्रान्तिकारी छलाङ, क्रान्तिकारी छलाङ भन्नुहुन्थ्यो । यो सरकारले क्रान्तिकारी छलाङ लगाएको छ भने मूल्यवृद्धिमा लगाएको र अपराधी बचाउनमा क्रान्तिकारी छलाङ लगाएको छ,’’ उनले टिप्पणी गरे ।
कांग्रेस नेता लेखकले गत बिहीबार बलात्कारपछि हत्या गरिएकी भीमदत्त नगरपालिका–२ कि १३ वर्षिया निर्मला पन्तका हत्यारालाई तत्काल पक्राउ गरी कारवाही गर्न सरकारसँग माग गरे । उनले हत्यारालाई पक्राउ गरी कारवाही प्रक्रिया अगाडि नबढाए सरकारले नराम्रो नियति भोग्नुपर्ने पनि चेतावनी दिए ।
‘‘अपराधीलाई कारबाही गर भनेर आएका महिलालाई लाठी र युवालाई अश्रुग्यास होइन, हिम्मत भए सरकारले २४ घण्टाभित्र अपराधीलाई पक्राउ गरेर कारवाही गरोस्,’’ लेखकले भने, ‘‘बलात्कार र हत्या जस्तो जघन्य अपराधमा संलग्न अपराधीलाई
बालिका बलात्कार र हत्याको घटनामा संलग्नलाई कारवाहीको माग गर्दा सत्ता पक्षले कांग्रेसमाथि लगाएको ‘लाशको राजनीति’ को आरोपको नेता लेखकले कडा शब्दमा निन्दा गरे । नाबालिकालाई बलात्कार गरेर हत्या गर्ने अपराधीलाई कारवाहीको माग गर्दा ‘लाशको राजनीति’ राजनीति गर्यो भन्ने कम्युनिष्ट पार्टीका नेताहरुको चरित्र उदाङ्गो भएको उनको भनाइ थियो ।
‘‘अपराधीलाई कारवाही गर भन्दा लाशको राजनीति देख्नुहुन्छ भने एक पटक होइन, १० पटक होइन, हजार पटक होइन, हामी १० हजार पटक भन्छौं, अपराधीलाई कारवाही गर,’’ आक्रोशित मुद्रामा देखिएका नेता लेखकले भने ।
बलात्कारपछि हत्या गरिएकी बालिकालाई न्याय दिलाउनु पर्ने भन्दै प्रतिपक्षी कांग्रेस, उसका भ्रातृ संगठन र स्थानीय बासिन्दाले आन्दोलन गर्दा स्थानीय प्रशासनले व्यापक दमन गरेको थियो भने सत्तारुढ दलका सांसदहरुले संसदमा कांग्रेसले लाशको राजनीति गरेको आरोप लगाएका थिए ।