गगन थापाको घोषणा: डा.केसीलाई हार्न दिन्न
काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले डा.गोविन्द केसीको पछिल्लो अनससनलाई अन्तिम बनाउँदै उनलाई हार्न नदिने घोषणा गरेका छन्।
शुक्रबार संसदमा बोल्दै थापाले नौं बुँदे सहमति गरेसँगै तोडिएको अनसन नै अन्तिम बनाउनुपर्छ भन्दै सरकार र संसदको ध्यानाकर्षण गराए।
एउटै व्यक्ति एउटै विषयका लागि पटक पटक अनसन बस्नु सबैका लागि लज्जाको विषय भएको थापाको भनाई थियो।
सांसद थापाले भने – ‘हामी सम्झौता गर्छौं तर पालना गरिरहेका छैनौं। त्यसैले यो पटक अनसनको श्रृंखलालाई अन्तिम बनाऔं। आज जे कुुरा सरकारको तर्फबाट संसदमा पेश गरिएको छ, संसदको सम्पत्ति भएको छ। हामी सरकार र संसदमाथि विश्वास गर्छौं।’
‘यो पटक डा. केसीलाई पनि हार्न दिन्नौं र हामी आफू पनि हार्दैनौं। जे सम्झौता भएको छ, त्यसअनुसार सरकारले पनि जिम्मा लिन्छ, नेकपाले पनि जिम्मा लिन्छ।’
कांग्रेस आफैं चिकित्सा शिक्षा अध्यादेशका कारण नैतिक बन्धनमा बाँधिएको भन्दै थापाले सहमतिअनुसार संसदबाट कानुन बनाउन पूर्ण सहयोग गर्ने बचन पनि दिए।