मन्त्रीमण्डल फेरबदल हुने, संचारमा योगेश आउने हल्ला के हो ?
काठमाडौं । प्रधानमन्त्री बनेदेखि नै मन्त्रालय जोड्ने र फोर्ने खेलमा लागिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्न लागेका छन्। ओलीलाई मन्त्रिमण्डल पुनर्गठन गर्न तिब्र दवाब परिरहेको उच्च राजनीतिक स्रोतहरुले जानकारी दिएका छन्।
पाँच वर्षका लागि गठन भएको मन्त्रिमण्डल केही महिनामै पुनर्गठन गर्न हुँदैन भनेर ओलीले अडान लिएका थिए तर अब उनी पुनर्गठनका लागि वाध्य भएका छन्। प्रधानमन्त्री निकट एक उच्च नेताका अनुसार संचार मन्त्री गोकुल वाँस्कोटालाई अन्य मन्त्रालयमा सार्ने लगभग तय भएको छ। उनका अनुसार संचार मन्त्रालयमा योगेश भट्टराईलाई ल्याइने सम्भावना प्रबल छ।
संचारमन्त्री बाँस्कोटा पनि अनुभव भएकै क्षेत्रको मन्त्रालय समाल्दा मजा आएन, राजनीतिक काम गर्न पाइने मन्त्रालय पाए हुन्थ्यो भन्ने पक्षमा रहेको उनका निकटहरुले बताएका छन्।
कानुन मन्त्री शेरबहादुर तामाङको राजीनामाका कारण मन्त्रिमण्डल पुनर्गठन अपरिहार्य हुन गएको बुझिन्छ। कानुन मन्त्रालयमा कसलाई ल्याउने भन्ने अनिश्चित छ। ‘कुन मन्त्रालयमा कसलाई ल्याउने होइन, समग्र प्याकेजमै पुर्नगठन हुनेछ,’ प्रधानमन्त्री निकट ती नेताको भनाई छ।
प्रधानमन्त्रीले हालै कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय फुटाएर एउटा कृषि तथा पशुपंक्षी मन्त्रालय र अर्काे भूमि व्यवस्था मन्त्रालय बनाउने निर्णय गराएका छन्। यो निर्णयसँगै एउटा मन्त्रालय थपिएको छ। थपिएको एउटा मन्त्रालयमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्मा अर्याललाई जिम्मेवारी दिने चर्चा छ। तर, पद्मालाई मन्त्री नबनाएर राज्यमन्त्री पदमै अर्काे मन्त्रालयमा सारिने सम्भावना धेरै रहेको छ।
मन्त्रिमण्डलमा अहिले २३ सदस्य छन्। संविधान अनुसार मन्त्री र राज्यमन्त्री गरी २५ जनाभन्दा धेरै हुन हुँदैन। प्रधानमन्त्रीले अब दुईजनासम्मलाई थप्न सक्छन्। योगेश थपिने भए भने उनको कारणले मन्त्रिमण्डलको वरियताक्रम पनि फेरबदल हुनसक्छ।
प्रधानमन्त्री निकटहरुले बताए अनुसार राज्यमन्त्री धनबहादुर बुढालाई र महिला मन्त्री थममाया थापालाई विश्राम दिइन सक्छ। यी दुई बाहिरिएको अवस्थामा ओलीले राज्यमन्त्री पनि थप्न सक्छन्। धनबहादुर बुढाले सांसद पदबाट राजिनामा दिने चर्चा पनि रहेको छ।
प्रधानमन्त्री ओलीलाई मन्त्रिमण्डल पुनर्गठन गर्दा सबैभन्दा समस्या हुने नाम हो खगराज अधिकारी। उनी राज्यमन्त्री सरहको प्रमुख सचेतक पदमा थिए। पार्टी एकीकरण गर्दा उनलाई हटाएर त्यो ठाउँमा देव गुरुङलाई ल्याइयो। खगराजलाई अन्याय परेकाले उनलाई पनि मन्त्रिमण्डलमा लैजानुपर्ने वाध्यतामा प्रधानमन्त्री रहेको बताइन्छ।
‘धेरै ठूलो फेरबदल हुने छैन, संचार मन्त्री सहित केहीको मन्त्रालय सरुवा हुनेछ, केही थपिने छन्, माओवादी मन्त्रीहरुको सरुवा हुने छैन’ वालुवाटार निकटहरुको विश्लेषण यस्तो छ।
मन्त्रिमण्डल पुनर्गठन हुने लक्षण देखिएपछि नेकपाका सांसदहरुको दौडधुप बढेको छ। उनीहरु आफ्ना लागि लविङमा लागेका छन्।