रोनाल्डो पछि मेस्सी इटालियन क्लब जाने हल्ला के हो ? - Himal Post Himal Post
  • १६ कार्तिक २०८१, शुक्रबार
  •      Fri Nov 1 2024
Logo

रोनाल्डो पछि मेस्सी इटालियन क्लब जाने हल्ला के हो ?



मिलान (एजेन्सी)– इटालीमा चलेको पछिल्लो हल्ला यदि सत्य भएको खण्डमा विश्व फुटबलका दुई महान खेलाडी क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सीबीचको प्रतिस्पर्धा  सिरी’ए’मा पनि देखिने सम्भावना बढेको छ ।

रोनाल्डो रियल म्याड्रिडबाट युभेन्ट्स पुगेको केहि दिन नबित्दै बार्सिलोनाका स्टार मेस्सी अर्को इटालियन क्लब इन्टर मिलान जाने चर्चा सुरु भएको छ । १ सय मिलियन युरोमा रोनाल्डो युभेन्ट्स पुगेका थिए । पोचुर्गिज स्टारले रियलले पारिश्रमिक बढाउने भन्ने चाहना राख्दा त्यसको सुनुवाई नहुने देखेपछि विकल्प राजेका थिए ।

तर, मेस्सीको कथा भने फरक छ । बार्सिलोनाले उनलाई सहजै जान दिने छैन । सानै उमेरदेखि उनी बार्सिलोनामा आबद्ध छन् । उनले लगभग आफ्नो पुरा खेल जीवन बार्सिलोनामै सुम्पने सम्भावनालाई पनि नकारेका छैनन् । रोनाल्डो भने प्रिमियर लिग, स्पेनिस लिग हुँदै अब सिरी ‘ए’को चुनौतिका लागि पुगेका छन् ।

सन् २००३ मा बार्सिलोनाको सी बाट व्यावसायिक फुटबल खेल्न सुरु गरेका मेस्सीले त्यसपछि बी टिम हुँदै २००४ मा सिनियर टोलीबाट डेब्यू गरेका थिए । १४ सिजन ला लिगा खेलिसकेका मेस्सीले ४ सय १६ खेलमा ३ सय ८३ गोल गरिसकेका छन् । पछिल्लो सिजन मात्र उनले ३६ खेलमा ३४ गोल गरेका थिए ।

यदि मेस्सी इन्टर मिलान पुगे खण्डमा टोलीले रोनाल्डो सम्मिलित युभेन्ट्सलाई कडा चुनौति हुने अपेक्षा गरिएको छ । मेस्सीलाई इन्टर मिलानले लिन चाहेको पिरिलीका सिइओ मार्को ट्रोनचेटी प्रोभेराले सार्वजनिक गरेका हुन् । पिरिली लामो समयदेखि इन्टरको प्रायोजक रहँदै आएको छ ।

इटालियन सञ्चारमाध्यमले इन्टरका मालिकले मेस्सीका लागि ठूलो रकम प्रस्ताव गर्न सक्ने जनाएको छ । ‘यदि फाइनान्सियल फेयर प्लेले रोक्ने अवस्था आएन भने मलाई लाग्छ प्रस्ताव जानेछ,’ प्रोभेराले भने, ‘मेस्सी ? मेस्सीलाई लिन तिमि नाई भन्न सक्छौं ?’