डा.गोविन्द केसीको अनशन श्रृंखला, सुरुदेखि अहिलेसम्म - Himal Post Himal Post
  • ९ आश्विन २०८१, बुधबार
  •      Wed Sep 25 2024
Logo

डा.गोविन्द केसीको अनशन श्रृंखला, सुरुदेखि अहिलेसम्म



चिकित्सा शिक्षामा सुधारको माग राख्दै प्रा.डा.गोविन्द केसीले आमरण अनशन सुरु गरेको २०७५ असार २१ गते ६ वर्ष पूरा भएको छ।

यो अवधिमा केसीले ६ प्रधानमन्त्रीको सामना गरे। केसीका तीन अनशन झेलेका प्रधानमन्त्री सुशील कोइरालाको निधन भइसकेको छ। अन्य पाँच प्रधानमन्त्री केसीको पन्ध्रौं अनशनका साक्षी छन्। योखर आजको अन्नपूर्ण पोष्ट दैनिकमा दिनेश लुईंटेलले लेखेका छन्।

पहिलो र दोस्रो अनशन झेलेका प्रधानमन्त्री डा.बाबुराम भट्टराई केसीको पन्ध्रौं अनशनको समर्थनमा सडकमै छन्। तेस्रो र चौथो अनशनको सामना गरेका तत्कालीन मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी मौन छन्। पूर्वप्रधानन्यायाधीशसमेत रहेका रेग्मीको मौनतालाई स्वाभाविक रूपमा हेरिएको छ। केसीका पाँचौं, छैटौं र सातौं अनशन सामना गरेका पूर्वप्रधानमन्त्री कोइराला हामीमाझ छैनन्।

२०७३ सालमा पहिलोपटक प्रधानमन्त्री हुँदा केसी आठौं अनशनको सामना गरेका केपी शर्मा ओली दोस्रोपटक फेरि बहुमतसहित प्रधानमन्त्री भएका छन्। केसीको आठौं अनशनको सामना गर्दा १७ दिनमा अनशन तोडाएका ओलीले पन्ध्रौं अनशनलाई २७ दिनसम्म तन्काए।

यो अनशन सबैभन्दा लामो बनेको छ। अनशन लम्बिँदै जाँदा धेरैले ओलीलाई केसीको स्वास्थ्यप्रति अनुदार प्रधानमन्त्रीको संज्ञासमेत दिए। नवौं र दसौं अनशनको सामना गरेका अर्का प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अध्यक्ष छन्।

सत्ताको बागडोर आफ्नै पार्टीका अर्का अध्यक्ष ओलीको काँधमा भएकाले प्रचण्डसमेत केसी अनशनको विपक्षमा कठोर भएर लागे। केसी अनशनका विषयमा उनका केही अभिव्यक्ति विवादितसमेत बने।

डा. केसीको एघारौं, बाह्रौं, तेह्रौं र चौधौं अनशनको सामना गरेका शेरबहादुर देउवा भने पन्ध्रौं अनशनको समर्थक बने। कांग्रेस साभापतिसमेत रहेका देउवा प्रतिपक्षी दलको नेताको हैसियतमा केसीका मागको जोडदार समर्थक मात्र बनेनन्, देशभर आन्दोलन चर्काउनसमेत सफल भए।

सत्तामा हुँदा डा.केसीलाई वैरी र उनका मागलाई घातक ठान्ने दलका नेता नै प्रतिपक्षमा हुँदा केसीका समर्थक बन्ने संस्कार पन्ध्रौं अनशनसम्म पनि जारी रह्यो। अनशनले स्वास्थ्य नाजुक भएपछि मात्रै सम्झौता हुन्छ। अनशन तोडिन्छ। तर भोलिपल्ट सम्झौता कार्यान्वयन हुँदैन। राजनीतिक नेतृत्वको यही गलत प्रवृत्तिले नेपाली गान्धीको उपमा पाएका केसी ६ वर्षदेखि लगातार भोक हडतालमा छन्।