प्रधानमन्त्री कार्यालयमै बेथिति, बोलपत्रबिनै जिम्मा निजी कम्पनीलाई - Himal Post Himal Post
  • ९ आश्विन २०८१, बुधबार
  •      Wed Sep 25 2024
Logo

प्रधानमन्त्री कार्यालयमै बेथिति, बोलपत्रबिनै जिम्मा निजी कम्पनीलाई



काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले नेपाल टेलिभिजनबाट प्रसारण हुने ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रमको उत्पादन र सञ्चालन जिम्मा निजी कम्पनीलाई दिएको छ । कार्यालयले सरकारी खर्चमा कार्यक्रम उत्पादनको जिम्मा बोलपत्र आह्वानबिनै कथा नेपाललाई दिएको हो ।

केपी ओलीको पहिलो प्रधानमन्त्रित्वकालमा सुरु भएको यो कार्यक्रम उत्पादन र प्रसारण यसअघि नेपाल टेलिभिजनले गर्दै आएको थियो । कार्यक्रम कथा नेपालका प्रबन्ध निर्देशक मनोज पाण्डेले चलाइरहेका छन् । प्रधानमन्त्रीको समृद्धिको मुद्दालाई न्याय गर्न सकिने ठानेर आफूहरूले राखेको प्रस्ताव प्रधानमन्त्री कार्यालयले स्वीकार गरेको पाण्डेले बताए । कार्यक्रम उत्पादन, प्रसारण सबै आफ्नै खर्चमा गर्ने भएकाले प्रधानमन्त्री कार्यालयले बोलपत्रबिनै आफूहरूलाई जिम्मेवारी दिएको उनले दाबी गरे । उनले सबै खर्च आफैं व्यहोर्ने बताए पनि कार्यक्रम प्रसारण र नेपाल टेलिभिजनको स्टुडियो प्रयोगबापतको खर्च प्रधानमन्त्री कार्यालयले बेहोर्ने व्यवस्था मिलाइएको छ ।

नेपाल टेलिभिजनका अध्यक्ष महेन्द्र विष्टले करिब ४५ मिनेट लामो समय प्रधानमन्त्री कार्यालयले पैसा तिरेर लिएको बताए । ‘प्रसारण शुल्क र स्टुडियोको प्रयोगबापतको शुल्क प्रधानमन्त्री कार्यालयले नै तिर्छ,’ उनले भने ।

नेपाल टेलिभिजन व्यापार महाशाखाका अनुसार प्रधानमन्त्री कार्यालयले प्रसारण व्यवस्था मिलाउनू भन्दै पत्राचार गरेपछि महाशाखाले एक विज्ञापन एजेन्सीले पाइरहेको समय सारेर उक्त समय उपलब्ध गराएको हो । उक्त समयमा एक अंक कार्यक्रम प्रसारणबापत १ लाख ४० हजार रुपैयाँ र स्टुडियो प्रयोग गरेबापत ७५ हजार रुपैयाँ शुल्क लाग्ने व्यहोराको पत्र पनि महाशाखाले प्रधानमन्त्री कार्यालयलाई पठाएको थियो । तर, कार्यालयले तोकिएजति पैसा दिने/नदिने टुंगो लागिनसकेको एक कर्मचारीले बताए ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले कार्यक्रम सञ्चालक मनोज पाण्डे मन्त्रिपरिषदको विज्ञ टोलीको सदस्य भएको बताए । कान्तिपुरबाट