प्रधानमन्त्री ओलीले भने: लोकसेवा पास गरेर मात्रै केहि हुँदैन - Himal Post Himal Post
  • ९ माघ २०८१, बुधबार
  •      Wed Jan 22 2025
Logo

प्रधानमन्त्री ओलीले भने: लोकसेवा पास गरेर मात्रै केहि हुँदैन



ललितपुर – प्रधानमन्त्री केपी शर्मा ओलीले सबै कर्मचारीमा जनताका सेवक हौं भन्नु भावना हुनु पर्ने बताएका छन् ।

प्रशासन सेवा सामान्य प्रशासन समूहका नवनियुक्त अधिकृतहरुलाई आधारभूत प्रशासनिक प्रशिक्षण समापन समारोहलाई  आज जावालाखेलमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कर्मचारीहरुले सिर्जनात्मक काम गर्नुपर्ने बताए ।

नवनियुक्त अधिकृतहरुलाई प्रधानमन्त्री ओलीले सिर्जनात्मक क्षमता प्रदर्शन गरेर काममा अब्बल हुन निर्देशन दिएका छन् । ‘तपाईंहरुले एउटा परीक्षा(लोकसेवा) पास गर्नु भयो तर अब वास्तविक परीक्षामा सहभागी हुँदै हुनुहुन्छ’, प्रधानमन्त्री ओलीले भने, ‘तपाईंहरुले कार्यक्षेत्रमा गएर जनतालाई कतिको सन्तुष्ट पार्न सक्नुहुन्छ ,पारदर्शी सेवा दिनुहुन्छ कि दिनुहुन्न ? तपाईंको इमान्दारिता रहन्छ कि रहँदैन ? यी सबै कुरामा तपाईंहरु पास हुनुपर्दछ ।’

प्रधानमन्त्री ओलीले अधिकृृतहरुलाई देशलाई राम्ररी अध्ययन गर्न र चिन्न पनि आग्रह गरेका छन । ‘देश भनेको हिमाल पहाड र तराइ मात्र होइन’, प्रधानमन्त्री ओलीले भने, ‘देशभित्र समाज छ, विभिन्न जातजाति छन् । धर्म संस्कृति छन् । ती सबै कुराको जानकारी राख्नु पर्दछ ।’

नेपालीका पुर्खा धेरै विद्वान भए पनि नेपाली पछि पर्नु अनौठो कुरा भएको प्रधानमन्त्री ओलीले बताए । नेपाली पछि पर्नु पर्ने कारण पत्ता लगाउन र अब  गरिबीबाट मुक्ति हुने उपायका बारेमा समेत नव अधिकृतहरुले मन्थन गर्नु पर्ने प्रधानमन्त्रीको भनाइ थियो । प्रधानमन्त्री ओलीले भने, ‘सरकार अब देशलाई गरिबीबाट मुक्ति दिलाउने अभियानमा लागेको छ । किनभने अब देशलाई अघि बढाउने समय आएको छ ।’

देश नयाँ परिस्थितिमा भएकोले अब पुरानो मान्यताको सोचाइमा पनि परिवर्तन गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । ‘तपाईंहरु नयाँ परिस्थितिमा काममा जाँदै हुनुहुन्छ । देशले केही नयाँ प्रणालीको विकास गरेको छ’, प्रधानमन्त्री ओलीले भने ‘देशमा संघीय प्रणाली लागु भएको छ । त्यस अनुसार तपाईंहरुले आफूलाई समायोजन गराउनु पर्दछ ।’