गैरजिम्मेवार बन्दै प्रहरी, हैन प्रहरी हुन की गाडिएका खम्बा ? - Himal Post Himal Post
  • ३ माघ २०८१, बिहीबार
  •      Thu Jan 16 2025
Logo

गैरजिम्मेवार बन्दै प्रहरी, हैन प्रहरी हुन की गाडिएका खम्बा ?



मङ्गल बास्कोटे
लम्की ,कैलाली ।

देशको शान्ति सुरक्षामा खटिएको प्रहरीले आफ्नो जिम्मेवारी निर्वाह गर्दै जनतालाई सुरक्षाको महसुस अझै पनि दिन सकेको छैन । पछिल्लो समय आएर प्रहरी नै आपराधिक क्रियाकलापमा सक्रिय भएर जनतालाई नै दुःख दिने गरेको पाइन्छ । यस्तै कैलालीमा पनि प्रहरीले आफ्नो पेसा र धर्म बिर्सेको हो भन्ने भान जनताले गरेका छन् । कैलालीको लम्की चुहा नगरपालिका अन्तर्गतको इलाका प्रहरी कार्यालय लम्कीले पनि सुरक्षा मजबुदीका पाटोलाई थोरै भए पनि हेक्का राख्न सकेको छैन ।

बजार क्षेत्रमा हुने चोरी,डकैती,झगडा जस्ता आपराधिक क्रियाकलापहरूलाई नियन्त्रण गर्नको लम्कीमा बजारको मुटु बजार चोक अछामरोडको ठिक पश्चिम पट्टि प्रहरी बिट बनाइएको छ । प्रहरी बिटमा धेरै समय प्रहरीको उपस्थिति भने भएको देखिँदैन । देखिए पनि बजारमा सुरक्षा गस्तीमा खटिएका प्रहरीलाई बजार क्षेत्रमा के भइरहेको छ भन्ने बारे जानकारी हुँदैन । केही घटनाहरू त प्रहरी अगाडी पनि घटेका हुन्छन् तर प्रहरी त्यति बेला मुख दर्शक बनेर हेरेको देखिन्छ ।

आज बिहान करिब पौने ७ बजे लम्की चोराहमा गाडी स्टाप र एक समूह बिच हानाहान भयो । गाडी स्टापलाई चोट लाग्यो र रक्ताम्य भए । यो घटना पनि बिटमा मस्त सँग बसिरहेका प्रहरीकै अगाडी भएको थियो । गाडी स्टापलाई अपरिचित युवाहरूले रक्ताम्य हुने गरी कुट्दा पनि प्रहरी हातमा हात बानेर खम्बा झैँ गरी उभिइरहेका थिए ।उनीहरूले कुटपिट गरी सके पश्चात् २ जना प्रहरी त्यो ठाउँमा आए तर कुनै प्रतिक्रिया दिएनन् र उनीहरू भाग्न सफल भए ।

केही व्यक्तिहरूले प्रहरीलाई घटना घट्दा पनि किन हातमा हात राखेर बस्नु भयो त भनी प्रश्न गर्दा त्यहाँका एक जना प्रहरीले भन्नु भयो , हामीलाई हाम्रो काम कर्तव्य सिकाउनु पर्दैन ।तपाईँलाई थाहा छ भने समात्नुस् न भनेर रूखो बोलीमा हपारे । विगत केही महिना पहिले लम्की प्रहरी बिटमै बस्ने एक जना अर्धचेतकी भान्जी भनिने महिलालाई खुकुरी प्रहार गरी गाला नै च्यात्दा पनि मुख दर्शक बनेर हेरेको थियो, हैन प्रहरी हुन की गाडिएका खम्बा लम्कीका एक व्यापारी बताउनु भयो ।

लम्की बजार क्षेत्रमा धेरै ब्यपारीका मोबाइल पसल,किराना पसलहरू राती गस्तीमा गएको प्रहरीकै अगाडी चोरी भएका छन् । यसरी चोरी हुँदा प्रहरी मौन बस्नाले कतै प्रहरी पनि सो कार्यमा संलग्न छ कि भन्ने आशङ्का व्यापारीमा बढेको छ ।

इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक सुरेन्द्र प्रसाद जोशीले काम गर्दै जाँदा कुनै ठाउँमा चुकेको हुन सक्ने र अबको दिनमा त्यस्तो प्रवृत्ति नदोहोरिने प्रतिबद्धता गर्नु भयो ।