वामदेव गौतमलाई सांसद बनाउने तयारी - Himal Post Himal Post
  • ९ आश्विन २०८१, बुधबार
  •      Wed Sep 25 2024
Logo

वामदेव गौतमलाई सांसद बनाउने तयारी



काठमाडौं, । नेपाल कम्युनिस्ट पार्टीले नेता वामदेव गौतमलाई सांसद बनाउने तयारी गरेको छ । उनलाई प्रतिनिधिसभामा ल्याउन नेकपाले पर्यटन राज्यमन्त्रीसमेत रहेका डोल्पाबाट निर्वाचित सांसद धनबहादुर बुढालाई राजीनामा दिन लगाउँदै छ ।

सांसद बुढाले राजीनामा दिएपछि डोल्पामा उपनिर्वाचन हुनेछ । जसमा नेकपाले गौतमलाई उम्मेदवार बनाउनेछ । पार्टीका दुई अध्यक्ष केपी ओली र प्रचण्डले ‘संसद्मा तपाईंको आवश्यकता परेको’ भन्दै गौतमलाई प्रतिनिधिसभामा ल्याउने आश्वासन पनि दिइसकेका छन् ।

नेता गौतमले पनि अध्यक्षद्वयले आश्वासन दिएको बताए । ‘दुवै अध्यक्षले प्रतिनिधिसभामा तपाईंको आवश्यकता पर्‍यो, ल्याउँछौँ भन्नुभएको छ । थप कुरा अहिल्यै नभनौँ’, उनले भने । स्रोतका अनुसार सांसद बुढाको राजीनामाबारे दुई अध्यक्षबीच छलफल भइसकेको छ । तर, कहिले भन्ने टुंगो भने लागेको छैन । बुढाको राजीनामा स्वीकृत भएपछि सरकारले निर्वाचन आयोगलाई उपनिर्वाचनका लागि आग्रह गर्ने स्रोतले जनाएको छ ।

डोल्पाका सांसद धनबहादुर बुढा भने राजीनामाबारे बोल्न चाहेनन् । ‘यसबार भेटेर कुरा गरौँला,’ उनले भने । ०७४ को निर्वाचनमा बुढा ११ हजार ७६१ मत ल्याएर विजयी भएका थिए । उनका प्रतिस्पर्धी कांग्रेसका अंगदकुमार बुढाले ३ हजार १६७ मत पाएका थिए । प्रतिनिधिसभातर्फ डोल्पामा १५ हजार ८१२ मत खसेको थियो । लामो समय राप्रपाको राजनीति गरेका बुढा ०७० मा एमाले प्रवेश गरी दोस्रो संविधानसभामा पनि सभासद् बनेका थिए ।

असोजसम्म उपनिर्वाचन

भक्तपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ (ख) मा पनि उपनिर्वाचन गर्नुपर्नेछ । प्रदेश सभा सदस्य हरिशरण लामिछानेको निधन भएपछि उक्त क्षेत्र रिक्त छ । सरकारले बुढाको राजीनामापछि यी दुवै क्षेत्रको उपनिर्वाचन गराउन आयोगलाई आग्रह गर्ने तयारी गरेको हो । नेकपा स्रोतका अनुसार सरकारले असोजसम्म उपनिर्वाचन गराउन निर्वाचन आयोगलाई आग्रह गर्नेछ । नयाँ पत्रिकामा खबर छ ।