विवादै विवादमा घोडाघोडी नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न - Himal Post Himal Post
  • २ माघ २०८१, बुधबार
  •      Wed Jan 15 2025
Logo

विवादै विवादमा घोडाघोडी नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न



विशाल पाण्डेय / सुखड,कैलाली ।

विवादै विवादमा कैलालीको घोडाघोडी नगरपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम शनिवार सुखडमा सम्पन्न भएको छ ।

घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा
घोडाघोडी नगरपालिकाका उप प्रमुख प्रेम कुमारी थापा र वडा नं १ का वडाध्यक्ष मनराज शाहीले
आर्थिक वर्ष २०७४/२०७५ मा सम्पन्न गरेका कार्यक्रमहरूको बारेमा जानकारी गराउँदा सहभागीहरूको चित्त नबुझेर प्रश्न गर्दा सहभागी र जनप्रतिनिधिहरूको दोहोरो संम्बादले विवाद उत्पन्न भएको थियो ।

सार्वजनिक सुनुवाइ कार्यक्रम भनिए पनि कार्यक्रमहरूको बारेमा मात्र बताइएको र कुन काम सम्पन्न गर्दा कति खर्च लाग्यो भनेर बजेट नभनिएको हुनाले सहभागीहरूले बिना तयारी,हचुवाको भरमा सार्वजनिक सुनुवाइ गरेको बताए । नगरपालिकाले कार्यक्रममा सबै कुराको जबाफ दिन नसके पछि सबै तयारी पुरा गरी पुन अर्को पटक सम्पूर्ण कार्यक्रमहरूको बजेट रकम सहित सार्वजनिक सुनुवाइ कार्यक्रम गर्ने भएको छ ।

यता घोडाघोडी नगरपालिकाका नगरप्रमुख चौधरीले हतार हतारमा कार्यक्रम गर्नु परेको बताएका छन् ।उनले कर्मचारी अभाव, लगायत विभिन्न कारण बस सबै जानकारी दिन नसकिएको स्वीकार गरे । उनले भने , “कर्मचारी अभाव र हतारमा कार्यक्रम गर्दा सबै विवरण दिन पाइएन ,अब पुन सार्वजनिक सुनुवाइ गर्छौ र सम्पूर्ण खर्च विवरण सहित जानकारी दिन्छौ ।”

सार्वजनिक सुनुवाइ कार्यक्रममा नगरपालिकाका इन्जिनियर अशोक जोशीले भौतिक पूर्वाधार विकास अन्तरगत नगरपालिकाका १२ वटै वडाका सडकहरू कुल १०३.४५ किलोमिटर ग्राइभिल भएको बताए । त्यस्तै इन्जिनियर जोशीले नगरपालिकाका विभिन्न वडाहरूमा गरी कुल ६.०२ किलोमिटर सडक कालोपत्र गर्नको लागि सम्झौता भइसकेको बताए ।साथै भरुवा निर्माण १७ ठाउँमा ,कल्भर्ट निर्माण ३७ वटा लगायत भौतिक पूर्वाधार तर्फका मुख्य कार्यहरू जोशीले बताएका थिए ।

यस्तै नगरपालिकाका अन्य बिषयत शाखाहरूले पनि आफूले गरेका वार्षिक कार्यक्रमको बारेमा सहभागीहरूलाई जानकारी गराएका थिए । शिक्षा,स्वास्थ्य,पशु,कृषि लगायत विषयका शाखाहरूले गरेका कामहरूको बारेमा जानकारी गराएका थिए ।

नगरपालिकाका उप प्रमुख प्रेम कुमारी थापाको स्वागत मन्तव्य सङ्गै सुरु भएको कार्यक्रममा राजनीति दलका नेता ,कार्यकर्ता ,बुद्धिजीवी ,समाजसेवी ,व्यापारी ,पत्रकार लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन निमित्त प्रमुख प्रशासकीय अधिकृत दीपक कुमार आचार्यले गरेका थिए । तस्बिर : घोनपा