देउवाले किन बोलाए आकस्मिक बैठक ? - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

देउवाले किन बोलाए आकस्मिक बैठक ?



काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज साँझ केन्द्रिय कार्य समितिको आकस्मिक बैठक बोलाएका छन् ।

पार्टीको भातृ संस्था नेपाल तरुण दल नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा रहेको वर्तमान सरकारको विरोध प्रदर्शनमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएलगत्तै सभापति देउवाले आकस्मिक बैठक डाकेका हुन् ।

कांग्रेस केन्द्रिय सदस्य प्रदिप पौडेलले दिएको जानकारी अनुसार सरकारले शान्तिपूर्ण आन्दोलनमा प्रहरी धरपकड गरेको भन्दै समिक्षा गर्न आजको बैठक डाकिएको हो । सभापति देउवाको निवास बुढानिलकण्ठमा बैठक अहिले भर्खरै सुरु भएको छ ।

आज अपरान्ह प्रहरीले झडपलाई नियन्त्रण गर्नको लागि ८ राउण्ड अश्रु ग्यास प्रहार गरेको थियो । प्रदर्शनकारीले ३ वटा सरकारी गाडी तोडफोड गरेका थिए ।

प्रदर्शनकारीले प्रदेश नम्बर ३ का सामाजिक मन्त्री युवराज दुलाल चढ्ने बा १ झ ३७६३, प्रदेश नम्बर २ का सामाजिक मन्त्री किशोर शाह चढ्ने बा १ झ ७२३४ गाडी र प्रदेश नम्बर ४ की सामाजिक मन्त्री नरदेवी पुन मगर चढ्ने ग १ झ २७६ गाडी तोडफोड गरेको हो।

झडपमा डीएसपी दानबहादुर मल्ल, इन्स्पेक्टर खेम नेपालसहित १४ प्रहरी घाइते भएका छन्। घाइतेहरूको सिभिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। अन्य प्रदर्शनकारी पनि घाइते भएका छन्।