२५ हजार घुससहित पक्राउ परे प्रधानमन्त्री कृषि परियोजनाका हाकिम - Himal Post Himal Post
  • ४ फाल्गुन २०८२, सोमबार
  •      Mon Feb 16 2026
Logo

२५ हजार घुससहित पक्राउ परे प्रधानमन्त्री कृषि परियोजनाका हाकिम



धनगढीः यहाँस्थित प्रधानमन्त्री कृषि आधुनीकिकरण परियोजनाका प्रमुख रामानन्द यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले २५ हजार घुससहित पक्राउ गरेको छ । बुधबार अपरान्ह धनगढीका पत्रकार सुशील ढुंगानाबाट डकुमेन्ट्री बनाएवापदको ५० हजार रुपैयाँको आधा रकम घुस लिने क्रममा उनलाई अख्तियारको टोलीले पक्राउ गरेको हो ।

डकुमेन्ट्री बनाएपछि आधा रकम घुस मागिरहेको थाहा पाएपछि अख्तियार महेन्द्रनगरस्थित कार्यालयका प्रवक्ता खिमानन्द पाठकको नेतृत्वमा आएको टोलीले उनलाई गदरियामा रहेको प्रधानमन्त्री कृषि आधुनीकिकरण परियोजनाको कार्यालयबाटै पक्राउ गरेको हो । उनको साथबाट २५ हजार नगद बरामद गरिएको प्रवक्ता पाठकले बताए ।

यादवलाई पक्राउ गरी महेन्द्रनगरस्थित अख्तियारको कार्यालय लगिएको छ । उनलाई विहीबार अख्तियारको केन्द्रीय कार्यालय काठमाडौं पठाइनेछ । अख्तियारको केन्द्रीय कार्यालयले मुद्दा चलाउने चलाउने निर्णय गर्ने भएकाले काठमाडौं पठाउन लागिएको हो ।

यसअघि पनि यादवले तीन करोडका कृषि औजार खरिदमा अनियमितता गरेको कुराले चर्चा पाएको थियो । उनले टेन्डर नगरी किसानलाई अनुदानमा वितरण गरिने ट्याक्टर, पावर ट्रिलर लगायतका करोडौंका उपकरण कोटेशनबाट किनेका थिए ।

कैलालीमा गहुँको सुपर जोन भएकाले स्थापना भएकादेखि नै यादवलाई परियोजनाको प्रमुख बनाएर पठाइएको थियो ।