अब मालबाहक गाडीलाई टाईमकार्ड - Himal Post Himal Post
  • ३ फाल्गुन २०८२, आईतवार
  •      Sun Feb 15 2026
Logo

अब मालबाहक गाडीलाई टाईमकार्ड



काठमाडौँ- उपत्यकामा बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्न मालबाहक सवारीसाधनलाई भक्तपुरको जगातीदेखि काठमाडौँको कोटेश्वरसम्म टाइम कार्ड लागू गरिने भएको छ।

भक्तपुरको फराकिलो सडकमा तीव्र गतिका कारण धेरै दुर्घटना भएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले साउन १ देखि टाइम कार्ड लागू गर्न लागेको हो। टाइम कार्ड लागू गरेपछि ट्रक, टिपर, भ्यान लगायतका सवारीसाधन प्रतिघन्टा ४० किलोमिटरको गतिमा गुड्नुपर्ने भएको छ।

यस्तै महाशाखाले १ गतेदेखि नै जगाती–कोटेश्वर सडक खण्डको बाँयातर्फ मालबाहक र सार्वजनिक सवारीसाधन तथा दायाँतर्फ मोटरसाइकल, कार, ट्याक्सी, पर्यटकीय बस, कूटनीतिक नियोगका बस सञ्चालन गर्ने गरी योजना बनाएको छ।

महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्त जगाती–कोटेश्वर क्षेत्रमा तीव्र गतिका कारण धेरै दुर्घटना हुने गरेपछि उक्त निर्णय गरेको बताउँछन्। ‘टाइम कार्ड लागू र मालबाहक सवारीसाधनलाई सडकको बायाँ भागबाट गुडाउन लगाएपछि दुर्घटनामा कमी आउनेछ,’ उनले भने।

महाशाखाले अहिले टाइम कार्ड जगाती–कोटेश्वर क्षेत्रको ९.७ किलोमिटर क्षेत्रमा लागू गर्न लागेको हो। पछिल्लो समय उपत्यकाको ट्राफिक व्यवस्थापनलाई ध्यानमा राखेर महाशाखाले बिहान ८ देखि १२ र साँझ ३ देखि ८ बजेसम्म टिपर तथा ट्रकलाई उपत्यकाभित्र प्रवेशमा रोकसमेत लगाएको छ।

हाल देशभरि ३० लाख ८० हजार सवारीसाधन रहेका छन् भने काठमाडौँ उपत्यकामा मात्र ११ लाख सवारीसाधन सञ्चालनमा रहेका छन्।रासस