माथेमाले मागे प्रधानमन्त्रीसँग स्पष्टीकरण - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

माथेमाले मागे प्रधानमन्त्रीसँग स्पष्टीकरण



काठमाडौँ। चिकित्सा शिक्षासम्बन्धी नीति तर्जुमा उच्चस्तरीय कार्यदलका संयोजक प्रा केदारभक्त माथेमाले कार्यदलले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्न नसक्नुका कारणबारे स्पष्ट पार्न केपी शर्मा ओली सरकारसँग माग गरेका छन् ।

जुम्लामा अनशनरत प्रा डा गोविन्द केसीको जीवनरक्षाको माग गर्दै शनिबार माइतीघर मण्डलमा प्रदर्शन कार्यक्रममा उनले भने, “हामीले बुझाएको प्रतिवेदन प्रष्ट र सरल छ, हामीले त्यसमा चिकित्सा शिक्षाको गुणस्तर माथि हुनुपर्छ र काठमाडौँमा धेरै नै मेडिकल कलेज भयो भनेर भनेका हौँ, त्यो भन्नुको कारण दिएका छौँ ।”

माथेमाले काठमाडौँमा धेरै भएकाले राजधानी बाहिर मेडिकल कलेज स्थापना गरी बाहिरका जनताको पहुँचमा शिक्षा र सेवा पुर्‍याउन सकिने आधारमा त्यस्तो सिफारिस गरिएको बताए ।

नेपाली कांग्रेसका नेता तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापाले माथेमा कार्यदलले बुझाएको प्रतिवेदन अनुसारको विधेयक आउनुपर्नेमा जोड दिए ।  “डा केसी सत्यका लागि लड्ने जोगी हुन्, उनले पनि विज्ञकै कुरा लागू गर भनेका हुन्,” उनले भने । विज्ञहरुले अध्ययन गरेर दिएको सुझावलाई बेवास्ता गरी सिमित व्यक्तिको स्वार्थ पूरा गर्न सरकार लागिपरेको उनले बताए  ।

वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारीले सरकारसँग वार्ता गर्न डा केसीका पक्षबाट वार्ता समिति तयार रहेको भन्दै डा केसीलाई बलपूर्वक काठमाडौँ ल्याउन नसक्ने बताए । उनले सरकारमा बसेको व्यक्तिले आफ्नो हितमा कानुन बनाउन खोजे अपराध हुने भएकाले जनताको हितमा काम गर्न सरकारलाई आग्रह गरे ।

माथेमा प्रतिवेदनअनुसारको चिकित्सा शिक्षा विधेयकको माग गर्दै डा केसी जुम्लामा १५ दिनदेखि १५ औँ आमरण अनशनमा बसेका छन् ।

राजनीतिक दलका नेता, विभिन्न पेशाकर्मी, चिकित्सक, विद्यार्थी र सर्वसाधारणले चिकित्सा शिक्षासम्बन्धी माथेमा आयोगको प्रतिवेदनअनुसारको चिकित्सा शिक्षा विधेयक ल्याई डा केसीको जीवनरक्षा गर्न माग गरेका हुन् ।