सुनकाण्ड पछी कपडा काण्ड: आधा करोड भन्दा बढीको कपडा समातियो !
जनकपुरधाम- भारतबाट अवैध रुपमा नेपालतर्फ ल्याउँदै गरेको करिब ६० लाख मूल्य बराबरको कपडा प्रहरीले बरामद गरेको छ।
धनुषाको जनकनन्दनी गाउँपालिका ३ मा भारतबाट अवैध रुपमा नेपालतर्फ ओसारपोसार भइरहेको उक्त सामान शनिवार नियन्त्रणमा लिइएको धनुषाका प्रहरी नायव उपरिक्षक दिपेन्द्र बहादुर शाहीले जनाएका छन्।
ठूलो रकम बराबरको उक्त कपडा अवैध रुपमा नेपाल भित्र्याइरहेको खबर सिभिलतर्फका प्रहरीले पाएपछि धनुषा प्रहरीले ज १ त ९९३ नं. को ट्रयाक्टर र चालककलाई समेत नियन्त्रणमा लिएको छ।
नियन्त्रणमा लिइएको सम्पुर्ण समानहरु लगायत उनीहरुलाई अनुसन्धान पश्चात आवश्यक कारबाहीको लागि भन्सार पठाइने जिल्ला प्रहरी कार्यलय धनुषाले जनाएको छ।
यस्तै, शनिवार नै इलाका प्रहरी कार्यलय औरहीबाट खटेको प्रहरी टोली जिल्लाको धनौजी गाउँपालिका १ ईटहर्वा र लखौरीको बीचबाट भारतबाट अवैध रुपमा नेपालतर्फ ल्याउँदै गरेको करिब २ लाख रुपैँया बराबरको कपडा बरामद गरेको छ।
ज २ प ५१२१, ज ९ प ४८०९ र ज ८ प ४८०५ नम्बर रहेको तीनओटा मोटरसाईकल सहित दुईजना चालकलाई समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
यता, औरही गाउँपालिका ३ बाट नेपालबाट भारततर्फ लैजाँदै गरेको १० वटा गाई सहित एक जना व्यपारीलाई नियन्त्रणमा लिईएको छ भने जनकपुर उपमहानगरपालिका शिबपथ स्थित भारतबाट अवैध रुपमा ल्याएको ५० हजार रुपैँया बराबरको ईन्भर्टर र पंखाका पता प्रहरीले बरामद गरेको छ ।
फाइल तस्विर