सुन काण्डमा पूर्व सांसद सिंहका भाई पक्राउ - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

सुन काण्डमा पूर्व सांसद सिंहका भाई पक्राउ



बाराका पूर्व सांसद लालबाबु सिंहका भाइ रामबाबु सिंह पक्राउ परेका छन्।
२०७० सालमा नेपाली कांग्रेसबाट समानुपातिक सांसद रहेका सिंहका भाइ रामबाबुलाई आज राजश्व अनुसन्धान कार्यालय पथलैयाको टोलीले पक्राउ गरेर हिरासतमा राखेको हो ।

उनलाई पत्र काटेर बोलाइएको थियो । त्यहीँबाट समातेर इलाका प्रहरी कार्यालय जितपुरमा थुनामा राखिएको मध्यमाञ्चल राजश्व अनुसन्धान कार्यालय पथलैयाका प्रमुख दिव्यराज पोखरेलले जानकारी दिए ।

‘असार ७ गते वीरगंजबाट पक्राउ गरिएका व्यक्तिको बयान र जफत सुनको घटनामा उनको संलग्नता रहेको देखिएपछि नियन्त्रणमा लिइएको हो,’ उनले भने, ‘आइतवार बिहान १० बजे पर्सा जिल्ला अदालतमा पेश गर्दैछौं ।’

कार्यालयका सूचना अधिकारी भीमबहादुर देवकोटाका अनुसार वीरगंज घण्टाघरस्थित श्रीराम मनी चेन्जरका सञ्चालकसमेत रहेका रामबाबुलाई १ किलो सुन तस्करीको घटनाको प्रारम्भीक अनुसन्धानमा दोषी देखिएकाले आवश्यक कारावाही अगाडि बढाइएको हो ।

पक्राउ परेका रामबाबु बारा गम्हरियाका पुराना बासिन्दा हुन् । हाल जीतपुर बजारमा बस्दै आएका उनी सुन तस्करीमा सक्रिय रहेको दावी सुरक्षा निकायको छ ।

उनको वीरगंज लिंक रोडस्थित कुमु प्यालेस होटल नजिकै सुनचाँदी पसल छ ।

सुन तस्करीको घटनामा पक्राउ परेका भरिया सर्लाही हरिपुर नगरपालिकाका ३८ वर्षीय सन्तोष साह कलवारलाई केरकार गर्दा रामबाबुको नाम खुलासा भएको थियो । ना ४२ प ३७७४ नं को मोटरसाइकलको सिट मुनिको एयर फिल्टरमा सुन राखेर रक्सौलतर्फ गइरहेको अवस्थामा इनार्वा प्रहरी चौकीको टोलीले सन्तोषलाई पक्राउ गरेको थियो ।

१ किलो सुनलाई गलाएर २ सय ग्रामको ५ वटा टुक्रा बनाई तस्करी हुँदै थियो । ५ हजार पाउने लोभमा तस्करीमा लागेको पक्राउ परेका भरिया सन्तोषले प्रहरीमा बयान दिएका थिए ।