क्रोएसियाले इङ्ल्यान्डलाई २ गोल हान्यो, मान्जुकिचले गरे गोल - Himal Post Himal Post
  • २२ असार २०८३, सोमबार
  •      Mon Jul 6 2026
Logo

क्रोएसियाले इङ्ल्यान्डलाई २ गोल हान्यो, मान्जुकिचले गरे गोल



मस्को- रुसमा जारी विश्वकप फुटबल प्रतियोगिताको दोस्रो तथा अन्तिम सेमिफाइनलमा अहिले इङ्ल्यान्ड र क्रोएसिया भिडिरहेका छन्।   खेलको अतिरिक्त समय जारि रहँदा क्रोएसिया २-१ गोलले अगाडि छ।

क्रोएसियाका मारियो मान्जुकिचले एक सय नवौं मिनेटमा गोल गर्दै टोलीलाई २-१ गोलले अगाडि बढाए। मान्जुकिचले इभान पेरिसिचको पासमा गोल गरेका थिए।

यसअघि निर्धारित ९० मिनेटको खेल १-१ गोलको बराबरीमा सकिएपछि अतिरिक्त समयमा पुगेको छ। यसअघि खेलको सुरुवातमै पछाडि परेको क्रोएसियाले दोस्रो हाफमा खेल बराबरीमा ल्याएको थियो।

क्रोएसियाका इभान पेरिसिचले ६८ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका हुन्। २९ वर्षीय मिडफिल्डर पेरिसिचले लामो क्रसमा आएको बललाई सिक्स यार्ड सर्कलबाट गोलपोष्टको दिशा दिएका थिए।

खेलको सुरुवातमै इङ्ल्यान्डले अग्रता लिएको थियो। पाँचौं मिनेटमा कायरन ट्रिपियरले फ्रिकिक गोल गरे। डिबक्सबाहिरबाट उनले गरेको गोल साइड बार च्यापेर गोल भएको थियो। २७ वर्षीय डिफेन्डर ट्रिपियरको यो पहिलो अन्तर्राष्ट्रिय गोल हो।

क्रोएसिया यसअघि विश्वकपको फाइनलमा पुग्‍न सकेको छैन। सन् १९६६ को विश्वकप जितेको इङ्ल्यान्ड त्यसपछि पहिलोपटक फाइनल पुग्‍ने प्रयासमा छ। विश्वकपमा इङ्ल्यान्ड २८ वर्षपछि र क्रोएसिया २० वर्षपछि सेमिफाइनल पुगेका हुन्।