ओली संस्कृति र संस्कारको विरोधी हुन् : उपकुलपति - Himal Post Himal Post
  • ८ माघ २०८१, मंगलवार
  •      Tue Jan 21 2025
Logo

ओली संस्कृति र संस्कारको विरोधी हुन् : उपकुलपति



काठमाडौं– नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राडा कुलप्रसाद कोइरालाले प्रधानमन्त्री केपी ओलीले आफूलाई अपराधी जस्तो व्यवहार गरेको आरोप लगाएका छन्।

आफू क्यानाडा जान विमानस्थल पुगेका बेला प्रधानमन्त्री ओलीको ठाडो निर्देशनमा फर्काउने काम भएको भन्दै उपकुलपति कोइरालाले आपत्ति प्रकट गरेका हुन्।

आइतबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै कोइरालाले आफूलाई नियन्त्रणमा लिएर विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री ओलीले सिंगो प्राज्ञिक क्षेत्रकै अपमान गरेको टिप्पणी समेत गरे।

शनिबार अपराह्न क्यानाडा जान त्रिभुवन विमानस्थल पुगेका उपकुलपति कोइरालालाई प्रहरीले नियन्त्रणमा लिई प्रधानमन्त्री निवास बालुवाटार पुर्‍याएको थियो।

कोइरालाले आफूलाई गरिएको अपमानले कम्युनिस्टहरु संस्कृति र संस्कारको विरोधी भएको पुष्टि गरेको तर्क समेत गरे। उनले आफू क्यानाडा पिकनिकका लागि नभई विश्व संस्कृत सम्मेलनमा भाग लिन जान लागेको तर सरकारले रोकेर अपमान गरेको गुनासो गरे।

उपकुलपति कोइरालाले वर्तमान सरकार सर्वसत्तावादी सोच अनुसार चलेको आरोप पनि लगाए। उनले सबै माध्यमिक तहमा संस्कृत विषय पठनपाठन गराउन आफूले पटक–पटक गरेको आग्रहलाई पनि सरकारले नसुनेको भन्दै आक्रोश व्यक्त गरे।

उनले कम्युनिष्टहरु न संस्कार बचाउन चाहन्छन न त संस्कृत भन्ने सरकारले चरितार्थ गरेको आरोप समेत लगाएका छन् ।