डा.केसीलाई चुनौती दिंदै चिकित्सा शिक्षा विधेयक दर्ता - Himal Post Himal Post
  • ८ माघ २०८१, मंगलवार
  •      Tue Jan 21 2025
Logo

डा.केसीलाई चुनौती दिंदै चिकित्सा शिक्षा विधेयक दर्ता



काठमाडौं – सरकारले चिकित्सा शिक्षा विधेयक संसदमा दर्ता गरेको छ । बिहीबारसम्म प्रतिस्थापन विधेयक पारित भइसक्नुपर्ने भए पनि दलीय असहमतिका कारण प्रतिस्थापन पारित हुन नसकेपछि सरकारले शुक्रबार नियमित प्रक्रियाबाट विधेयक संसदमा दर्ता गरेको हो ।

डा. गोविन्द केसीसँग भएको सम्झौताअुनसार सरकारले वैशाख १३ गते दोस्रोपटक राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश जारी गरेको थियो ।

अन्तिम समयमा संसदमा ल्याइएको प्रतिस्थापन विधेयक फाष्ट्राकबाट पारित गर्न सरकारले खोजे पनि गोविन्द केसीसँग भएका सम्झौताविपरीत आएको भन्दै कांग्रेसले विरोध जनाएपछि नियमित प्रक्रियाबाट विधेयक ल्याउने सहमित भएको थियो ।

शुक्रबार संसद सचिवालयमा दर्ता भएको विधेयक प्रतिस्थापनको हुबहु भएको कानुनमन्त्री शेरबहादुर तामाङले जानकारी दिए । विधेयकमा ‘प्रतिस्थापन’ भन्ने शब्द मात्र हटाइएको उनले बताए ।

विधेयकमा काठमाडौं उपत्यकामा जुनसुकै बेला मेडिकल कलेज खोल्न र आशयपत्र दिन सकिने, एउटा विश्वविद्यालयले पाँचभन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिन सक्ने, मेडिकल कलेज चलाउन आफ्नो अस्पताल नभए पनि हुने, सरकारी कलेजले ७५ प्रतिशत छात्रवृति दिनु नपर्ने जस्ता प्रावधान राखिएको छ ।
जुन प्रावधान अध्यादेशमा भएको व्यवस्थाभन्दा विपरीत र गोविन्द केसीसँग सरकारले गरेको सहमतिको विपरीत छ ।