उरुग्वे र फ्रान्सको भिडन्त को फर्केला घर ? - Himal Post Himal Post
  • ४ माघ २०८१, शुक्रबार
  •      Fri Jan 17 2025
Logo

उरुग्वे र फ्रान्सको भिडन्त को फर्केला घर ?



काठमाडौं । विश्वकप २०१८ अन्तर्गत क्वार्टरफाइनलको पहिलो खेलमा पूर्व विश्व विजेता टोलीहरु फ्रान्स र उरुग्वे भिड्दैछन् । रसियाको निझ्नी नोभगोरोद शहरमा आयोजना यो खेल नेपाली समय अनुसार साँझ ७ः४५ मा सुरु हुनेछ ।

भुगोलले फरक महादेश भएपनि दक्षिण अमेरिकी राष्ट्र उरुग्वे र युरोपेली राष्ट्र फ्रान्स एक अर्कासँग धेरै अर्थमा परिचित छन् । फ्रान्सका आन्त्वान ग्रिजमान र लुकास हर्जान्डेज क्लब फुटबल खेल्ने क्रममा उरुग्वेका डियगो गोडिन र होसे जिमिनेजसँगै एट्लेटिको मड्रिडबाट खेल्ने गरेका छन् ।

त्यस्तै उरुग्वेका एडिन्सन कभानी र फ्रान्सका किलियन एमबाप्पे दुबै जना पेरिस–सेन्ट जर्मेनबाट क्लब फुटबलको मैदानमा होमिएका छन् । यस्तोमा यि दुइ टोली आमने सामने हुँदा विपक्षी टोलीको कमजोरी र बलियो पक्षसँग राम्रैसँग जानकार रहनेछन् ।

उरुग्वेले यस प्रतियोगिताको समुह चरणको सबै खेल जितेको थियो । सोही क्रममा ला सेलेस्ट ले प्रि–क्वार्टरफाइनलमा पोर्चुगलको चुनौति पन्छाएको थियो । लुइस स्वारेज र एडिन्सन कभानीको गोलले हौसिएको यस टोलीले यस प्रतियोगितामा १ गोल मात्र खाएकोले पनि डिफेन्समा दरिलो भएको प्रमाणित भइसकेको छ ।

सन् २०१० को विश्वकपको सेमिफाइनल पुगेको उरुग्वे अहिले सोही इतिहास दोहो¥याउन आतुर छ । त्यसको लागि यस प्रतियोगिताको पाँचौ जितको लागि हरसम्भव प्रयास गर्न उरुग्वे तत्पर देखिएको छ । फ्रान्सका स्ट्राइकर रोक्न ४–४–२ को रणनितीमा मैदानमा उत्रने उरुग्वेको लागि अघिल्लो खेलमा घाइते भएका एडिन्सन कभानीलाई सुरुवात देखि मैदानमा उत्राने कि परिवर्तित खेलाडिको रुपमा उतार्ने भन्ने विषय टाउको दुखाइ भएको छ । तथापी लुइस स्वारेजले भने सुरु देखि खेल्ने निश्चीत छ ।

अर्कोतर्फ समुह चरणमा डेनमार्कसँग बराबरी खेली ७ अंक सहित अन्तिम १६ मा स्थान बनाएको फ्रान्सले अर्जेन्टिनाको चुनौति पन्छाउने क्रममा ४ गोल गरेको थियो । सो जित सँगै दक्षिण अमेरिकी राष्ट्रसँग विश्वकपमा खेलिएको ९ खेलमा अपराजित रहेको इतिहासले फ्रान्सलाई यस खेलमा झिनो सुविधा दिएको छ । तथापी आजको खेलमा उरुग्वेको बलियो डिफेन्स विरुद्ध फ्रान्सका खेलाडिको स्ट्राइक गर्ने क्षमताको साँचो परिक्षण हुनेछ ।

सन् २०१४ को विश्वकपमा क्वार्टरफाइनलबाट बाहिरिए पनि यो विश्वकपलाई लक्षित गरी फ्रान्सका प्रशिक्षक डिडियर डेशच्याम्पले युवा र सिपालु टोलीको निमार्ण गरेकाले पनि यस विश्वकपको प्रमुख दाबेदारको रुपमा लेस ब्लुस लाई लिइएको छ ।

उरुग्वेको डिफेन्ससँग परिचित प्रशिक्षक डेशच्याम्पले यस खेलमा फ्रान्सले पहिलो गोल खाएमा खेलमा फर्किन गाह्रो हुने आँकलन गरेकाले फ्रान्स संयमित भएर खेल्न सक्छ ।

हालसम्म यि दुई टोलीले खेलेको ७ खेलमा फ्रान्स २ खेलमा विजयी भएको छ भने उरुग्वे १ मा विजयी भएको छ । त्यस्तै ४ खेल बराबरी मै टुंगिएको छ ।

आजको यस महत्वपूर्ण खेलमा विजयी हुने टोलीले सेमिफाइनलमा स्थान बनाउने छ भने हार्ने टोलीको विश्वकप यात्रा यहिं टुंगिन भएकोले दुबै टोलीको तगडा भिडन्त हुने कुरामा दुईमत छैन ।