नगरबासीलाई स्वच्छ खानेपानी , पिच सडकको १८ महिना सम्म अनुगमन
घनश्याम पौडेल
मसुरीया, कैलाली । गौरीगंगा नगरपालिकाका नगरबासीहरुले अबको २ वर्ष भित्र स्वच्छ खानेपानी पिउन पाउने नगर प्रमुख भिम बहादुर देउवाले आज नगरपालिकामा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीहरुको प्रश्नका जवाफ दिदै सो कुरा बताउनु भएको हो । स्वच्छ खानेपानीको समस्या नगरमा रहेको र महिला तथा बालबालिकाहरु बढि प्रभावित भएको भन्ने सहभागीको प्रश्नको जवाफ दिदै देउवाले सो कुरा बताउनु भएको हो । नगरपालिकाले यस आ.व. २०७५ / ०७६ मा नदी तटबन्ध निर्माण गर्न ५ करोड विनियोजन गरिएको र नदि कटान नियन्त्रण गर्न जौविक तटबन्धको आबश्यकता रहेको देउवाले बताउनु भएको छ ।
नगर भित्र हाल निमार्ण भएका पिच सडक निर्माणको क्रममा पहिलो बर्षमा केहि कम्जोरी भएको हुन सक्ने भन्दै आ.व. २०७५ / ०७६ मा निश्चित रकम धरैटी लिएर निर्माण व्यवसायीलाई टेन्डर प्रक्रियाबाट दिएको बताउँदै १८ महिनामा सडक अनुगमन गरि गुणस्तरीय निमार्ण प्रमाणीत भएपछि मात्र धरैटि फिर्ता दिईने हुँदा सडक निमार्णमा गल्ती गर्नेलाई छुट नदिइने बताउनु भएको छ । बाहिर प्रचार गरीए जस्तो सडक निमार्णमा कुनै नेता कार्यकर्ताबाट दबाब नआएको दावि गर्नु भयो ।
गौरीगंगा नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम आज सम्पन्न भएको छ । नगर प्रमुख भिम बहादुर देउवाको अध्यक्षतामा सम्पन्न भएको सार्वजनिक सुनुवाई कार्यक्रममा नगरका सबै वडा का सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
वातावरण संरक्षण समिति कैलालीको आयोजनामा भएको कार्यक्रममा नगर भित्र बाटो बनाउँदा भुगोलको ख्याल नगर्दा वर्षातको पानीले कटानको समस्या निम्तिएको र पानीको निकास, होमपाईप राख्ने प्रकृयालाई, लक्षित वर्गका लागि संचालित भएका योजनाहरुको प्रभावकारिता, नदीको कटान, बाटो ग्रावेल, पिच गरिएका सडक निर्माणको स्तर , स्वास्थ्य,वन, कृषि, खानेपानी लगायतका विभिन्न विषयमा सहभागीहरुले सुझाव तथा प्रश्न राख्नु भएको थियो ।
नगर प्रमुख भिम बहादुर देउवाले सार्वजनिक सुनुवाईको क्रममा नगरपालिकाको काम कारवाही जन उत्तरदायी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।