जन्मोत्सव मनाउनका लागि पूर्वराजा नेपालगन्ज जाने - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

जन्मोत्सव मनाउनका लागि पूर्वराजा नेपालगन्ज जाने



बाँके : पूर्वराजा ज्ञानेन्द्र शाह बुधवार नेपालगन्ज आउने भएका छन्। आफ्नो जन्मोत्सव मनाउनका लागि उनी नेपालगन्ज आउन लागेका हुन्।

जन्मदिनको पूर्वसन्ध्यामा नेपालगन्ज आउन लागेपछि उनको जन्मोत्सव मनाउन नेपालगन्जमा तयारी तीव्र पारिएको छ। पूर्वराजाको जन्मोत्सव मनाउन नागरिक मूल समारोह समिति गठनसमेत गरिएको छ। नेपालगन्जको सेतु बिक चोकमा कार्यालय स्थापना गरी पूर्वराजाको जन्मोत्सव भब्य रूपमा मनाउने तयारी गरिएको नेपालगन्ज उपमहानगरपालिका–२ का भुवनकृष्ण श्रेष्ठले जानकारी दिए।

श्रेष्ठ नागरिक मूल समारोह समितिका संयोजक हुन्। पूर्वराजाको नेपालगन्ज विमानस्थलमा जनस्तरबाट भब्य स्वागत गरिने श्रेष्ठले बताए। पूर्वराजाको ७२औँ जन्मोत्सव मनाउन नेपालगन्जमा विभिन्न उपसमितिसमेत गठन गरिएको नागरिक मूल समारोह समितिका महासचिव भीमबहादुर शाहीले जानकारी दिए। शाहको यही असार २३ गते जन्मदिन परेको छ। उनको नेपालगन्जस्थित होटल सोल्टीमा जन्मोत्सव मनाउने तयारी गरिएको छ। उनी जन्मोत्सव मनाउनुका साथै केहि दिन नेपालगन्जमा बस्ने भएका छन्।

नेपालगन्ज बसाइँका क्रममा उनले धार्मिक कार्यका साथै आफ्ना शुभचिन्तकहरूसँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ।