विदेशीको निर्देशनमा नेपालमा सङ्घीयता: चित्रबहादुर केसी
नयाँ दिल्ली /ईन्द्रकमल जैरु
मूल प्रवाह अखिल भारत एकता समाज नई दिल्ली समिति र मूल प्रवाह अखिल भारत एकता समाज ओखला समितिको नगर सम्मेलन एवं संयुक्त घोषणासभा सम्पन्न भएको छ ।
राष्ट्रिय जनमोर्चाका प्रवासी संगठनहरुको नगर सम्मेलन जारी रहँदा भारतस्थित दिल्ली एनसीआरका मूल प्रवाह अखिल भारत एकता समाजका नई दिल्ली र ओखला समितिको नगर सम्मेलन सम्पन्न भएको हो । दिल्लीको एण्ड्रीउज-गञ्जमा आयोजना गरिएको भव्य कार्यक्रमका बिच नयाँ कार्यसमितिको घोषणा समेत गरिएको छ ।
मूल प्रवाह अखिल भारत एकता समाज ओखलाको नयाँ कार्य समितिको अध्यक्षमा विजय खनाल, उपाध्यक्षमा केशव थापा, सचिवमा कन्या गुरुङ, सह-सचिवमा रिमकुमार जी एम र कोषाध्यक्षमा नरबहादुर रेश्मी लगायत २३ सदस्यीय कार्यसमिति चयन भएको छ भने नई दिल्ली समितिको अध्यक्षमा बिनबहादुर केसी, उपाध्यक्षमा तिलक खनाल, सचिव विष्णु खनाल, सहसचिवमा सालिन्द्रराम पौडेल, कोषाध्यक्षमा रामबहादुर जिएम लगायत २० सदस्यीय कार्यसमिति चयन भएको छ ।
तिलक पाण्डेले अध्यक्षता गरेको कार्यक्रममा पूर्व उप-प्रधानमन्त्री एवं राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी प्रमुख अतिथि मूल प्रवाह केन्द्रीय समितिका वरिष्ठ सल्लाहकार हरि आचार्य विशेष अतिथिका रूपमा उपस्थित रहनु भएको थियो ।
समारोहमा बोल्दै राजमो अध्यक्ष चित्रबहादुर केसीले विदेशीको निर्देशनमा नेपालमा बहसै नचलाई सङ्घीयता थोपरिएको बताउनु भयो । शिव केसीले सञ्चालन गरेको कार्यक्रममा सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो । समारोहमा ठुलो सङ्ख्यामा प्रवासी नेपालीहरूको उपस्थिति रहेकाको थियो ।