डा गोविन्द केसीको गिरफ्तारीप्रति काँग्रेसको आपत्ति - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

डा गोविन्द केसीको गिरफ्तारीप्रति काँग्रेसको आपत्ति



काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले जुम्लामा गरिएको प्रा डा गोविन्द केसीको गिरफ्तारीप्रति आपत्ति प्रकट गरेको छ ।

सरकारका गलत कर्मको विरोध गर्न संसद्, सडक या प्रेसमार्फतको प्रस्तुति बिल्कुलै स्वाभाविक हुन्छ भने न्यायोचित माग राखेर अनशनको सत्याग्रहलाई लोकतन्त्रमा झनै विशिष्ट शैलीका रुपमा लिनुपर्ने काँग्रेसको ठहर छ ।

काँग्रेसले संसद्मा उठ्ने प्रश्नमा प्रधानमन्त्रीले हलुका जवाफ दिने, सडकमा गर्ने प्रदर्शनमा निषेधाज्ञा लगाउने, प्रेस जगत्मा क्रमशः हस्तक्षेप बढाउने तथा अनशनमा धरपकड गर्ने गरेको आरोप लगाउँदै सरकार गम्भीर बनेन भने चौतर्फी दबाब दिइने चेतावनी दिएको छ ।

सरकार हरेक क्षेत्रमा कि हचुवा शैलीमा कि निश्चित नियतका साथ प्रस्तुत हुँदै गएको पछिल्लो उदाहरण चिकित्साशास्त्र विधेयकमाथिको व्यवहार भएको प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।